काठमाडौं । देउराली जनता फर्मास्यूटिकल्स प्राइभेट लिमिटेडको ३५ औं वार्षिकोत्सव सम्पन्न भएको छ । यस कम्पनीले विगत साढे तीन दशकदेखि नेपाली जनताको स्वास्थ्य सेवामा समर्पित रहँदै आएको कम्पनीले अत्यावश्यक औषधिहरू स्वदेशमै उत्पादन गरी औषधि आयातमा रहेको परनिर्भरता घटाउँदै आएको छ ।
कम्पनीले उच्च प्रविधिको प्रयोगमार्फत जीवनरक्षक तथा दीर्घरोग उपचारमा आवश्यक पर्ने क्याप्सुल, ट्याब्लेट, लिक्विड, मलहम, ड्राइ पाउडर लगायत २९६ प्रकारका औषधिहरूको अनुसन्धान, विकास र उत्पादन गर्दै आएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिएको अत्याधुनिक कारखानाबाट गुणस्तरीय औषधि नेपाली बजारमा उपलब्ध गराइँदै आएको कम्पनीको दाबी छ।
विश्वका विभिन्न मुलुकबाट उच्च शिक्षा हासिल गरेका वैज्ञानिक, प्राविधिक तथा प्रशासनिक जनशक्ति सहित करिब ६७५ जना कर्मचारीको दक्षता, परिश्रम र नवीन सोचकै कारण देउराली–जनता आज नेपाली औषधि उद्योगको विश्वासिलो नाम बन्न सफल भएको कम्पनीले जनाएको छ । देउराली–जनता नेपालमा प्रविधि हस्तान्तरण मार्फत अन्तर्राष्ट्रिय स्तरको औषधि उत्पादन प्रविधि भित्र्याउने पहिलो उद्योगका रूपमा परिचित छ ।
कम्पनीले सिजीएमपी मापदण्डअनुसार उत्पादन गर्दै आईएसओ ९००१, आईएसओ १४००१ तथा विश्व स्वास्थ्य संगठनद्वारा प्रदान गरिने डब्लुएचवो जीएमपि प्रमाणपत्र प्राप्त गरेको नेपालको पहिलो औषधि उद्योगको रूपमा पहिचान बनाएको छ ।
कम्पनीले संस्थागत सुशासन, प्रशासनिक पारदर्शिता, कर्मचारीमैत्री नीति तथा सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय स्तरको उत्पादन प्रणाली र व्यवसायिक आचरण अवलम्बन गर्दै आएको जनाएको छ ।
विज्ञानमा आधारित गुणस्तर र सत्यनिष्ठालाई मूल मन्त्र मानेर औषधि उत्पादनमा आत्मनिर्भर बन्ने तथा नेपाली औषधिलाई विश्व बजारमा स्थापित गर्ने लक्ष्यसहित कम्पनी अघि बढिरहेको छ ।
नयाँ परियोजना
देउराली–जनता फर्मास्यूटिकल्सले उत्पादन क्षमता विस्तार र विविधीकरणका लागि चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको अत्याधुनिक नयाँ औषधि उद्योग स्थापना गर्ने निर्णय गरेको छ । कम्पनीले यस परियोजनामा ४७५ करोड रुपैयाँ लगानी गर्ने र दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
नयाँ उद्योग सञ्चालनमा आएपछि करिब ५५० जनालाई प्रत्यक्ष रोजगारीको अवसर सिर्जना हुने कम्पनीले जनाएको छ । कम्पनीले आगामी दिनहरूमा पनि जनस्वास्थ्य क्षेत्रमा नवीन प्रविधि र उच्च गुणस्तरका औषधि उत्पादन मार्फत प्रभावकारी सेवा विस्तार गर्दै अग्रणी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।












