काठमाडौं । पछिल्लो समय सूचना प्रविधि प्रणालीहरूमा ‘ र्यान्समवेयरबाट’ को आक्रमण उल्लेख्य रूपमा वृद्धि भएपछि नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले एक विशेष साइबर सुरक्षा एडभाइजरी जारी गरेको छ।
केन्द्रले सर्वसाधारण र विभिन्न संघ-संस्थाहरूलाई यस प्रकारको डिजिटल आक्रमणबाट हुन सक्ने क्षतिबाट बच्न र सचेत रहन आग्रह गरेको छ।
र्यान्समवेयर एक प्रकारको हानिकारक सफ्टवेयर हो, जसले प्रयोगकर्ताको कम्प्युटर, मोबाइल वा अन्य उपकरणमा रहेका महत्त्वपूर्ण फाइल र डाटालाई लक गरिदिन्छ। यसरी डाटा लक गरिसकेपछि आक्रमणकारीले उक्त फाइलहरू पुनः प्राप्त गर्नका लागि पीडितसँग फिरौती माग गर्ने गर्दछन्।
केन्द्रका अनुसार इमेलमा आउने शंकास्पद एट्याचमेन्टहरू खोल्दा, सामाजिक सञ्जाल वा एसएमएसमा आएका नक्कली लिङ्कहरूमा क्लिक गर्दा, असुरक्षित स्रोत वा ‘पाइरेटेड’ र ‘क्र्याक’ गरिएका सफ्टवेयरहरू प्रयोग गर्दा,अपरेटिङ सिस्टम र एन्टी-भाइरस नियमित अपडेट नगर्दा, असुरक्षित नेटवर्क र शंकास्पद यूएसबी डिभाइसहरूको प्रयोग गर्दा र्यान्समवेयर फैलिने गर्दछ।
साइबर सुरक्षा केन्द्रले र्यान्समवेयरबाट जोगिन निम्न सावधानीहरू अपनाउन सुझाव दिएको छ:
१.डाटा ब्याकअप:आफ्ना महत्त्वपूर्ण डाटाको नियमित ब्याकअप लिने र त्यसलाई क्लाउड वा अफलाइन स्टोरेजमा सुरक्षित राख्ने।
२. सफ्टवेयर अपडेट: सधैँ आधिकारिक वेबसाइट वा स्टोरबाट मात्र सफ्टवेयर डाउनलोड गर्ने र सिस्टमलाई नियमित अपडेट राख्ने।
३. सचेतना:अपरिचित व्यक्तिबाट आएका लिङ्क वा इमेलहरू नखोल्ने।
४. मजबुत सुरक्षा:बलियो पासवर्डको प्रयोग गर्ने र गुणस्तरीय एन्टी-भाइरस सिस्टम जडान गर्ने।
यदि झुक्किएर र्यान्समवेयरको आक्रमण भइहालेमा तुरुन्तै निम्न कदम चाल्न केन्द्रले निर्देशन दिएको छ:
मालवेयर अन्य उपकरणमा फैलिन नदिन तुरुन्तै इन्टरनेट वा इन्ट्रानेट विच्छेद गर्ने, इमेल र सिस्टम लगइनका पासवर्डहरू तुरुन्त परिवर्तन गर्ने, रकम तिर्दैमा डाटा फिर्ता हुने सुनिश्चित नहुने र यसले अपराधीलाई थप प्रोत्साहन मिल्ने हुनाले रकम नतिर्न सुझाव दिइएको छ।
घटनाको विस्तृत विवरणसहित नेपाल प्रहरीको साइबर ब्युरो र राष्ट्रिय साइबर सुरक्षा केन्द्रमा जानकारी गराउने।
थप जानकारी वा सहयोग आवश्यक परेमा केन्द्रको इमेल [email protected] वा टेलिफोन नम्बर ०१-४२१११३० मा सम्पर्क गर्न सकिने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ।












