काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) को सुर्खेत सदस्य सेवा कार्यालयमा कर्मचारीमाथि भएको कुटपिटको निन्दा गरिएको छ।
नेफ्स्कुनमा कार्यरत कर्मचारीले प्रमुख कार्यकारी अधिकृतलाई ज्ञापनपत्र बुझाउँदै घटनाको निन्दा गरेका हुन्। ‘पुस १८ गते सुर्खेत सदस्य सेवा कार्यालयमा भएको घटनामा गम्भीर ध्यानाकर्षण भएको छ’, ज्ञापनपत्रमा भनिएको छ, ‘नेफ्स्कुन सञ्चालक समितिका सदस्य वीरबहादुर रावत (भोटे) द्वारा सुर्खेत सेवा कार्यालयमा कार्यरत कर्मचारीहरु मदनकुमार चन्द र पुष्पराज तिमिल्सेनालाई गरेको दुव्र्यवहार र कुटपिटका सम्बन्धमा हाम्रा यी माग छन्।’
यस्ता छन् माग
- नेफ्स्कुनका सञ्चालक समितिका सदस्य रावत (भोटे) द्वारा कार्यरत कर्मचारी चन्द र तिमिल्सेनामाथि कार्यस्थलमा भएको सांघातिक हमलाका कारण हामी कार्यरत सम्पूर्ण कर्मचारीहरु असुरक्षित भएका छौँ। यो घटनाको विधिसम्मत छिनोफानो नभएसम्मका लागि रावत (भोटे)लाई तत्कालै निलम्बन गरी बर्खास्त गरियोस्।
- उक्त हमलाका कारण कर्मचारीद्वय चन्द र तिमिल्सेनाका साथै सम्पूर्ण कर्मचारीको सुरक्षा संवेदनशीलतालाई ध्यान दिई सबैको जीउधनको सुरक्षाको उचित व्यवस्थापन गर्न माग गर्दछौँ।
- नेफ्स्कुनमा कार्यरत सम्पूर्ण कर्मचारीले निर्वाध रुपमा कार्य गर्न पाउनुपर्ने विधिको पूर्ण पालनाका लागि समिति तथा उपसमितिका सम्पूर्ण प्रकारका कार्यकारी भूमिकालाई पूर्ण रुपमा हटाई नेफ्स्कुनको विनियम तथा कार्यविधिमा उल्लेख भएका कार्य तथा जिम्मेवारीबाहेक अन्य कुनै पनि प्रशासनिक कार्यमा हस्तक्षेप नगर्न माग गर्दछौँ।
- नेफ्स्कुनका सम्पूर्ण कार्यालयमा रहेको सबै उपसमितिका कार्यकक्ष तत्कालै हटाउन जोडदार माग गर्दछौँ।
- नेफ्स्कुनको छविमा व्यापक सुधार गर्नुपर्ने अवस्थामा नेतृत्वबाट भएको यस्ता अमर्यादित हर्कतवाट संघको छविमा नकारात्मक प्रभाव परेको अवस्थामा समिति तथा उपसमितिमा रहेका कुनै पनि व्यक्ति वा उक्त व्यक्ति संलग्न रहेको सहकारी संस्था कारबाहीमा परेको वा कालोसूचीमा परेको वा कानुनी कारबाहीमा परेको सूचना, जानकारी तथा तथ्य प्रमाणका आधारमा उक्त संस्थाका प्रतिनिधिलाई कानुनबमोजिम तत्काल निलम्बन गरी वर्खास्त गर्न माग गर्दछौँ।
- सुर्खेत घटनाका कारण सम्पूर्ण कर्मचारीहरुको मनोबलमा नकारात्मक प्रभाव परेको सन्दर्भमा यस घटनाको छिनोफानो नभएसम्मका लागि नेफ्स्कुनका सबै कार्यालयहरुबाट प्रवाह गरिने सम्पूर्ण सेवाहरु पूर्ण रुपमा बन्द गरिने जानकारी गराउन चाहन्छौँ। साथै उपरोक्त मागहरु सम्बोधन नभएमा चरणबद्ध थप आन्दोलनको समेत घोषणा गर्दछौँ।
उपरोक्त मागका कारण संघका सेवा प्रवाहमा अवरोध हुन गई सदस्य संघसंस्थामा पर्न जामे असुविधा प्रति व्यवस्थापन क्षमाप्रार्थी छौं।












