काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो ५ महिना मंसिरसम्म करिब पौने २६ अर्ब रुपैयाँ नाफा कमाएका छन्।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मंसिरसम्मको तथ्यांकअनुसार २० वाणिज्य बैंकहरुको नाफा २५ अर्ब ७२ करोड ७ लाख रुपैयाँ देखिएको हो। अघिल्लो वर्ष २०८१।८२ को मंसिरसम्म वाणिज्य बैंकहरुले ३० अर्ब २४ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकहरुको नाफा १४.९५ प्रतिशतले घटेको छ।
तथ्यांकअनुसार सर्वाधिक नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक रहेको छ भने वृद्धिदरका हिसाबले राष्ट्रिय वाणिज्य बैंक अग्रस्थानमा रहेको छ।
समीक्षा अवधिसम्म ग्लोबल आइएमई बैंकले ३ अर्ब २२ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ८३ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो बैंकको नाफा १३.६९ प्रतिशतले बढेको छ।
यसैगरी दोस्रो धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ। समीक्षा अवधिसम्म नबिलले ३ अर्ब ११ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३ अर्ब ४९ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा बैंकको नाफा १०.८६ प्रतिशतले घटेको छ।
तेस्रो धेरै नाफा कमाउनेमा प्राइम कमर्सियल बैंक रहेको छ। प्राइमले समीक्षा अवधिसम्म १ अर्ब ९२ करोड ५९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा प्राइमले १ अर्ब ९६ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा प्राइमको नाफा पनि २.१८ प्रतिशतले घटेको छ।
त्यस्तै समीक्षा अवधिसम्म एभरेष्ट बैंकले १ अर्ब ८९ करोड ६८ लाख रुपैयाँ र एनएमबि बैंकले १ अर्ब ६५ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म एभरेष्टले १ अर्ब ९४ करोड २ लाख रुपैयाँ एनएमबिले १ अर्ब ९० करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा एभरेष्टको नाफा २.२४ प्रतिशत र एनएमबिको १३.१५ प्रतिशतले घटेको छ।
अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा १४ वटा बैंकको नाफा घटेको छ भने ५ वटाको मात्रै बढेको छ। अघिल्लो वर्ष घाटामा रहेको कृषि विकास बैंक नाफामा देखिएको छ भने सर्वाधिक कम नाफा कमाउनेमा सिटिजन्स बैंक रहेको छ।













