काठमाडौं । वाणिज्य बैंकहरुले निर्माण क्षेत्रमा कर्जा लगानी बढाएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ७ महिना माघसम्मको तथ्यांकबाट यस्तो देखिएको हो।
तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकले चालु आर्थिक वर्षको माघसम्म २ खर्ब २१ अर्ब ७२ करोड ९१ लाख रुपैयाँ निर्माण क्षेत्रमा कर्जा लगानी गरेका छन्। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को माघसम्म निर्माण क्षेत्रमा बैंकहरुबाट २ खर्ब १ अर्ब २८ करोड ८३ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा निर्माण क्षेत्रमा बैंकहरुको कर्जा लगानी १०.१५ प्रतिशतले बढेको छ।
अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा निर्माण क्षेत्रमा १५ वटा बैंकको कर्जा लगानी बढेको छ भने ५ वटाको घटेको छ। चालु वर्षको माघसम्म निर्माण क्षेत्रमा सबैभन्दा धेरै लगानी बैंकमा नबिल रहेको छ भने वृद्धिदरका हिसाबले माछापुच्छ्रे अगाडि रहेको छ।
चालु वर्षको माघसम्म नबिल बैंकले निर्माण क्षेत्रमा २५ अर्ब ३२ करोड ७३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २४ अर्ब ६२ करोड ३३ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो। अघिल्लो वर्षको तुलनामा कर्जा प्रवाह २.८६ प्रतिशतले बढेको छ।
निर्माण क्षेत्रमा दोस्रो धेरै कर्जा प्रवाह गर्ने बैंकमा लक्ष्मी सनराइज बैंक रहेको छ। माघसम्म यो बैंकले २४ अर्ब ६१ करोड ६० लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १९ अर्ब ४७ करोड १६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको कर्जा लगानी २६.४२ अर्बले बढेको छ।
तेस्रोमा एनआईसी एसिया बैंक रहेको छ। अघिल्लो वर्ष माघसम्म बैंकले २३ अर्ब ११ करोड ६५ लाख रुपैयाँ निर्माण क्षेत्रमा कर्जा प्रवाह गरेकोमा समीक्षा अवधिसम्म ५.३५ प्रतिशतले घटेर २१ अर्ब ८७ करोड ८७ लाख रुपैयाँमा झरेको छ।
अघिल्लो वर्षको तुलनामा समीक्षामा यो क्षेत्रमा एनआईसी एसियासँगै कुमारी बैंक, सिद्धार्थ बैंक, नेपाल बैंक र नेपाल एसबीआई बैंकको कर्जा लगानी घटेको छ। बाँकी १५ वटाले कर्जा लगानी बढाए पनि वृद्धिदरका हिसाबले माछापुच्छ्रे बैंकको सर्वाधिक ५२.५१ प्रतिशत देखिएको छ।
निर्माण क्षेत्रमा सबैभन्दा कम कर्जा प्रवाह गर्नेमा नेपाल एसबीआई बैंक रहेको छ।
निर्माण क्षेत्रका कुन बैंकबाट कति कर्जा प्रवाह ?













