काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले सेती प्रादेशिक अस्पतालको डायलासिस युनिटलाई रिभर्स ओस्मोसिस प्रणाली सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धनगढी–१, कैलालीमा अवस्थित अस्पताललाई उक्त सामग्री सहयोग गरेको हो ।
यस सहयोगले सुदूरपश्चिम प्रदेशभरका मृगौला रोगी बिरामीहरूलाई प्रदान गरिने डायलासिस सेवालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको बैंकले जनाएको छ ।
सेती प्रादेशिक अस्पतालमा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले अस्पताललाई सहयोग स्वरुप अस्पतालको डायलासिस एकाइका लागि आर.ओ.प्रणाली हस्तान्तरण गरेका हुन् ।
अस्पतालको डायलासिस युनिटले हाल २१ वटा डायलासिस मेसिनमार्फत तीन सिफ्टमा करिब २४२ जना नियमित बिरामीहरूलाई सेवा प्रदान गरिरहेको छ ।
अस्पतालको तत्काल आवश्यकतालाई मध्यनजर गर्दै बैंकले अस्पताल व्यवस्थापन टोलीसँग छलफल गरी सबैभन्दा प्राथमिक आवश्यकता पहिचान गरेको थियो । सोही अनुसार, डायलासिस युनिटका लागि दिगो र सुरक्षित उपचार सेवा सुनिश्चित गर्न आवश्यक पर्ने प्रणालीको स्थापनालाई सर्वोच्च प्राथमिकतामा राखिएको हो ।












