काठमाडौं । शेयर बजारको उच्च उतारचढावलाई नियन्त्रण गर्न नेप्सेमा सर्किट ब्रेकरको व्यवस्था गरिएको छ। हाल नेप्सेमा बजार उच्च उतारचढाव हुँदा तीनवटा सर्किट ब्रेकरको व्यवस्था रहेको छ। अब त्यसलाई घटाएर दुईवटा सर्किट ब्रेकरको व्यवस्था गर्न लागिएको छ। यद्यपि, सर्किट ब्रेकरको माथिल्लो सीमा भने बढाइने भएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कारोबार विनियमावलीमा संशोधन गर्नका लागि स्वीकृति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा प्रस्ताव पठाएको छ। सेबोनले स्वीकृति दिएमा विनियमावलीमा सर्किट ब्रेकरको व्यवस्थासँग अन्य केही प्रावधानमा पनि संशोधन गरी नेप्सेले लागू गर्नेछ।
नेप्सेका एक उच्च अधिकारीका अनुसार कारोबार विनियमावलीमा संशोधन गर्दै हालको सर्किट ब्रेकरको व्यवस्थालाई घटाएर दुईवटामा झार्न लागिएको छ। ‘उच्च उतारचढाव नियन्त्रण गर्न कारोबारको पहिलो घन्टामा बजार ५ प्रतिशत घट्दा वा बढ्दा पहिलो सर्किट ब्रेक र फेरि ८ प्रतिशतले बजार घट्दा वा बढ्दा दोस्रो सर्किट ब्रेक लगाउने प्रस्ताव गरिएको छ’, ती अधिकारीले भने, ‘त्यो स्वीकृत भएमा पहिलो सर्किट ५ प्रतिशतमा लागेपछि १५ मिनेटका लागि कारोबार स्थगित गरिनेछ र त्यसपछि फेरि बजार ८ प्रतिशत बढेमा वा घटेमा सर्किट ब्रेकर लगाएर बाँकी समयको कारोबार स्थगित गरिनेछ।’
हाल बजारको उच्च उतारचढाव नियन्त्रण गर्न कारोबारको पहिलो घन्टामा ४ प्रतिशतले बढ्दा वा घट्दा, त्यसपछि ५ प्रतिशतले बढ्दा वा घट्दा र ६ प्रतिशतले घट्दा वा बढ्दा सर्किट ब्रेक लगाउने व्यवस्था छ। जसअनुसार ४ प्रतिशतमा सर्किट ब्रेकर लगाएर २० मिनेट कारोबार स्थगित गर्ने, त्यसपछि ५ प्रतिशतमा सर्किट ब्रेकर लगाएर ४० मिनेट कारोबार स्थगित गर्ने र अनि फेरि ६ प्रतिशतमा सर्किट ब्रेकर लगाएर बाँकी समयको कारोबार स्थगित गर्ने प्रावधान रहेको छ।
यसैगरी नेप्सेले हालको प्रि–ओपन सेसनमा शेयरमूल्यमा अधिकतम वृद्धि ५ प्रतिशतसम्मको व्यवस्था कायम गर्न लागेको छ। हाल प्रि–ओपन सेसनमा शेयरमूल्यमा अधिकतम वृद्धि २ प्रतिशतसम्मको व्यवस्था रहेको छ।
अर्को तेस्रो संशोधनको प्रस्ताव भनेको आफ्टर मार्केट अर्डर प्लेसमेन्ट रहेको छ। कारोबार समयपछि पनि शेयर खरिद–बिक्रीका लागि अर्डर राख्न मिल्ने व्यवस्था विनियमावलीमा संशोधन गर्दै ल्याउन लागिएको छ। विदेशमा रहेका नेपालीले आफू रहेको देशबाट शेयर कारोबार गर्न असहज भएको गुनासो प्राप्त भएपछि यो व्यवस्था गर्न लागिएको नेप्सेका ती अधिकारीले जानकारी दिए। यो व्यवस्था कायम भएमा पुँजीबजार विकास र विस्तारमा थप टेवा पुग्ने ती अधिकारीको भनाइ छ।
सेबोनका एक अधिकारीका अनुसार नेप्सेको कारोबार विनियमावली संशोधनसम्बन्धी प्रस्तावमाथि आन्तरिक रुपमा छलफल भएको बताए। ‘सेबोन सञ्चालक समितिमा यो प्रस्ताव पठाउने कुरा छ। सम्भवतः आज–भोलि नै बस्ने सञ्चालक समितिको बैठकले यसबारे निर्णय गर्न सक्छ’, ती अधिकारीले भने।












