काठमाडौं । नेपाल सरकारले नगद कारोबारको सीमा १० लाख रूपैयाँबाट झारेर पाँच लाख रूपैयाँमा सीमित गरेको छ।
नेपाल राजपत्रमा बिहीबार प्रकाशित सूचना अनुसार माघ १ गतेदेखि कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एक पटकमा रू ५ लाख वा सोभन्दा बढी मूल्यको कुनै सेवा वा वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैंकिङ्ग उपकरण मार्फत गर्नुपर्ने व्यवस्था गरेको छ।
सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ४४ ग को उपदफा (१) को व्यवस्था बमोजिम सरकारले यस्तो प्रावधान लागू गरेको हो ।
सूचनामा निम्नलिखित प्रयोजन बाहेकको अवस्थामा रू. ५ लाख वा सोभन्दा माथिको कारोबार बैकिङ उपकरणमार्फत गर्नुपर्नेछ।
(क) वित्तीय संस्थामा निक्षेप, बचत वा सटही गर्न,
(ख) वित्तीय संस्थाबाट लिएको कर्जा, त्यसको साँवा तथा ब्याज भुक्तानी गर्न,
(ग) वित्तीय संस्थाहरू बीचमा नगद कारोबार गर्न,
(घ) उपर्युक्त नगदको सीमाभन्दा बढी नगद स्रोत तथा प्रयोजन खुल्ने गरी आफूसँग राख्न वा देशभित्र एक स्थानबाट अर्को स्थानमा लैजान,
(ङ) कुनै निक्षेपकर्ता वा बचतकर्ताले कुनै खास कारण देखाई नगद भुक्तानीको लागि दिएको निवेदनको व्यहोरा र कारण मनासिब देखिएमा त्यस्तो निक्षेपकर्ता वा
बचतकर्ताको खाता रहेको वित्तीय संस्थाबाट निक्षेपकर्ता वा बचतकर्तालाई उल्लिखित सीमाभन्दा बढी नगद भुक्तानी दिन।












