काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सार्वजनिक ‘नेपालको पुँजीबजार विकास मार्गचित्र–२०८३’ सार्वजनिक गरेको छ। मार्गचित्रमा आर्थिक रुपान्तरणको प्रमुख इन्जिनका रुपमा पुँजीबजार प्रस्तुत गरिएको छ।
मार्गचित्रमा कुनै पनि राष्ट्रको दिगो आर्थिक विकासका लागि सुदृढ, पारदर्शी तथा प्रभावकारी वित्तीय प्रणाली अपरिहार्य रहेको उल्लेख छ। ‘आर्थिक वृद्धि र पुँजीबजारबीच घनिष्ठ सम्बन्ध रहन्छ। वित्तीय प्रणालीका दुई प्रमुख आधार स्तम्भहरु बैंकिङ प्रणाली र पुँजीबजार हुन्’, मार्गचित्रमा भनिएको छ, ‘बैंकहरुले मुख्यतः अल्पकालीन तथा मध्यमकालीन ऋण प्रवाहमार्फत आर्थिक गतिविधिलाई सहयोग गर्ने भए पनि दीर्घकालीन लगानी, औद्योगिकीकरण, पूर्वाधार विकास, नवप्रवर्तन, उद्यमशीलता तथा उत्पादनमूलक क्षेत्रको विस्तारका लागि पुँजीबजारले निर्वाह गर्ने भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ।’
विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, आर्थिक सहयोग तथा विकास संगठनलगायतका अन्तर्राष्ट्रिय संस्थाहरुले विकसित पुँजीबजारलाई उच्च आर्थिक वृद्धि, पुँजी निर्माण, उत्पादकत्व वृद्धि तथा लगानी विस्तारको आधारभूत पूर्वाधारका रूपमा स्वीकार गरेको मार्गचित्रमा उल्लेख छ। विशेषगरी विश्वव्यापी आर्थिक प्रतिस्पर्धा तीव्र बन्दै गएको वर्तमान सन्दर्भमा दीर्घकालीन वित्तीय स्रोत परिचालन गर्ने सबैभन्दा प्रभावकारी माध्यम पुँजीबजार नै हो।
पुँजीबजारलाई अर्थतन्त्रको ऐनाको रुपमा चित्रित गर्ने गरिन्छ। जसबाट पनि समग्र अर्थतन्त्रमा पुँजीबजारको भूमिका कस्तो होला भनी अनुमान गर्न सकिन्छ। उच्च दरमा आर्थिक वृद्धि हासिल गर्न उल्लेख्य मात्रामा आवश्यक वित्तीय पुँजी उपलब्ध गराउने प्रमुख माध्यम पुँजीबजार रहेको छ।
नेपालले न्यून आययुक्त राष्ट्रबाट स्तरोन्नतिको चरण पार गर्दै मध्यम आययुक्त मुलुक बन्ने लक्ष्य लिएको अवस्थामा देशको औद्योगिकीकरण, ऊर्जा विकास, पूर्वाधार विस्तार, हरित अर्थतन्त्र, डिजिटल रुपान्तरण तथा रोजगारी सिर्जनाका लागि विशाल परिमाणमा दीर्घकालीन पुँजी आवश्यक पदर्छ। यस्तो पुँजीको व्यवस्थापन केवल बैंकिङ प्रणालीबाट मात्र सम्भव नहुने भएकाले पुँजीबजारको विकासलाई राष्ट्रिय आर्थिक रुपान्तरणको केन्द्रीय रणनीतिका रुपमा लिन आवश्यक रहेको मार्गचित्रमा भनिएको छ।
मार्गचित्रमा नेपाल भावी पुँजीबजार
पुँजीबजार विकास दृष्टिअन्तर्गत सन् २०३६ सम्म नेपालको पुँजीबजार निम्न विशेषतायुक्त प्रणालीका रुपमा विकास गर्ने लक्ष्य सेबोनले लिएको छ।
- पारदर्शी तथा उत्तरदायी
- प्रविधिमैत्री तथा डिजिटल
- लगानीकर्तामैत्री तथा सुरक्षित
- बहुवित्तीय साधनयुक्त
- संस्थागत लगानीमा आधारित
- अन्तर्राष्ट्रिय मापदण्डअनुरुप
- ईएसजी तथा दिगो वित्तलाई प्रोत्साहन गर्ने
- निजी क्षेत्रको विकासलाई समर्थन गर्ने
- राष्ट्रिय आर्थिक रुपान्तरणको प्रमुख वित्तीय पूर्वाधार।
पुँजीबजार विकास मार्गचित्रको पूर्ण हेर्न यहाँ क्लिक Scanned Image गर्नुहोस् ।












