काठमाडौं । दोस्रो बजारमा मार्जिन कारोबार सुविधा लिएका लगानीकर्ताले मार्जिन कल गर्दा सम्पर्कमा नआए ब्रोकरले शेयर बेचिदिन पाउने भएका छन्।
नेपाल धितोपत्र बोर्डले ल्याउन लागेको ‘मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशन, २०८२’को प्रारम्भिक मस्यौदामा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो। ब्रोकरले सूचीकृत संगठित संस्थाको शेयरको १८० दिनको औसत मूल्य वा बजारमूल्य जुन कम हुन्छ सोको न्यूनतम प्रतिशतले हुन आउने रकम लगानीकर्तासँग प्रारम्भिक मार्जिनका रुपमा लिनुपर्ने व्यवस्था मस्यौदामा प्रस्ताव गरिएको छ। शेयरको मूल्य गणना गर्दा १८० दिनको औसत मूल्य वा बजारमूल्यमध्ये जुन कम हुन्छ सोको ६० प्रतिशतले हुन आउने मूल्यलाई मात्र गणना गर्नुपर्छ।
यसैगरी शेयरको बजारमूल्यमा हुने परिवर्तनका कारण लगानीकर्ताले मार्जिन कारोबार सुविधाअन्तर्गत खरिद गरेको शेयरमा आवश्यक पर्ने सम्भार मार्जिन कायम गर्न नसकेमा ब्रोकरले लगानीकर्तालाई मार्जिन कल गर्नुपर्ने व्यवस्था प्रस्तावित मस्यौदामा गरिएको छ। यसरी मार्जिन कलपश्चात आवश्यक मार्जिन कायम नगरेमा वा सम्पर्कमा नआएमा ब्रोकरले नै लगानीकर्ताले मार्जिन कारोबार सुविधाअन्तर्गत खरिद गरेको शेयर बिक्री गर्न सक्ने व्यवस्था पनि यसमा ल्याइएको छ।
यसरी शेयर बिक्रीपश्चात सम्बन्धित लगानीकर्तासँग हिसाब फर्छ्यौट गरी सोको जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई जानकारी गराउनुपर्नेछ। ब्रोकरले मार्जिन कल गर्ने तथा बिक्री गर्नेसम्बन्धी व्यवस्था स्पष्ट रुपमा आफ्नो कार्यविधिमा राख्नुपर्ने अनिवार्यता पनि यस निर्देशनमा प्रस्ताव गरिएको छ।
हाल धितोपत्र बोर्ड यो निर्देशनमा सरोकारवालाहरुको रायसुझाव माग गरेको छ। सरोकारवालाबाट प्राप्त रायसुझावलाई समेटेर यो निर्देशन धितोपत्र बोर्डले लागू गर्नेछ।












