काठमाडौं । पशु सेवा विभागले मोरङको सुन्दर हरैचा ४ र उर्लाबारी नगरपालिका ८ का कुखुरामा उच्च रोगजनक एभियन इन्फ्लुएन्जा (H5N1) अर्थात् बर्ड फ्लु रोग पुष्टि भएको जनाएको छ।
स्थानीय किसानले पालेको कुखुरा केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा मलिकुलर विधिबाट परिक्षण गर्दा चैत ४ गते प्राप्त प्रयोगशाला नतिजाका आधारमा रोग पुष्टि भएको विभागले जानकारी दिएको हो।
रोग पुष्टी भएलगत्तै कृषी तथा पशुपंक्षी मन्त्रालयको निर्णय अनुसार प्रभावित क्षेत्रलाई बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गर्दै रोग नियन्त्रण टोली परिचालन गरिएको विभागका महानिर्देशक डा. उमेश दाहालले जानकारी दिएका छन् ।
बर्ड फ्लु नियन्त्रण नियमावली २०७८ बमोजिम प्रभावित क्षेत्रको चार किल्ला घोषणा गरी रोग नियन्त्रणको कार्य शुरू भइसकेको विभागको भनाई छ। नियन्त्रणका लागि खटिएको पशुपंक्षी रोग विशेषज्ञ सहितको टोलीले घरपालुवा कुखुरा, हाँस, टर्की, अण्डा, दाना, उपकरण तथा सरसफाई सामग्री नष्ट अभियान सञ्चालन गरिरहेको छ। साथै, पशुपन्छी तथा पशुपन्छीजन्य पदार्थको आवतजावत पूर्ण रूपमा रोक लगाइएको छ।
गत वर्ष फागुन १० गते कोशी प्रदेशकै सुनसरी जिल्ला अन्तर्गत कोशी नगरपालिका ६ मा पालिएका हाँस र स्थानीय कुखुरामा उच्च रोगजनक एभियन इन्फ्लुएन्जा (H5N1) अर्थात् बर्ड फ्लु रोग पुष्टी भएको थियो ।
बर्ड फ्लुको संक्रमणका हिसाबले कोशी प्रदेशको मोरङ र सुनसरी जिल्ला निक्कै संवेदनशिल क्षेत्र रहँदै आएको छ। पछिल्लो पाँच वर्षयता यी दुबै जिल्लामा बर्ड फ्लु रोगको संक्रमण प्रत्येक वर्ष माघ, फागुन, चैत्र महिनामा देखिने प्रवृत्ती छ।
पशु सेवा विभागले सर्वसाधारणलाई रोग नियन्त्रणका लागि सहयोग गर्न आग्रह गर्दै ११ बुँदे सावधानी निर्देशिका जारी गरेको छ। यसमा फर्ममा अनावश्यक व्यक्तिको प्रवेश रोक्ने, डिसइन्फेक्टेन्ट प्रयोग गर्ने, व्यक्तिगत सुरक्षा सामग्री प्रयोग गर्ने, मासु पसलमा स्वास्थ्य परीक्षणबिना ताजा मासु बिक्री नगर्ने लगायतका उपायहरू समावेश छन्।
विभागका महानिर्देशक डा. उमेश दाहालले रोग नियन्त्रणका लागि सबै सरोकारवालालाई सतर्कता अपनाउन र विभागलाई सहयोग गर्न अपिल गरेका छन्।












