काठमाडौं । एसिया प्रशान्त क्षेत्रमा प्राकृतिक विपत्तिबाट अर्बौं डलरको क्षति भए पनि बीमांकृत सम्पत्ति एकदमै न्यून रहेको पाइएको छ।
डढेलो, आँधी, भूकम्पलगायतका प्राकृतिक विपत्तिबाट एसिया प्रशान्त क्षेत्रका देशहरुमा वर्ष २०२५ को पहिलो त्रैमासमा अर्बौं डलरको सम्पत्ति क्षति भएको एअनले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। यद्यपि बीमांकृत सम्पत्ति भने ज्यादै न्यून रहेको प्रतिवेदनमा जनाइएको छ।
वर्ष २०२४ मा एसिया प्रशान्त क्षेत्रका देशहरुमा प्राकृत्तिक विपत्तिबाट ७४ अर्ब डलरको आर्थिक क्षति भएको थियो। तर, त्यसमा बीमांकृत सम्पत्ति जम्मा ४ अर्ब डलरको मात्रै थियो। वर्ष २०२४ मा बाढी, टाइफुन यागी आँधी र नोटो पेनिन्सुला भूकम्पले ठूलो जनधनको क्षति भएको थियो।
वर्ष २०२५ को पहिलो त्रैमासमा दक्षिण कोरिया र जापानमा थुप्रै डढेलोका घटना भएका छन्। डढेलोमा परेर दक्षिण कोरियामा मात्रै ३१ जनाको ज्यान जानुका साथै ४९ जना घाइते भएका छन्। डढेलोले ७ हजार ७०० संरचना ध्वस्त भएका छन्। डढेलोले अनुमानित १ अर्ब डलरको क्षति पुगेको एअनले जनाएको छ।
त्यस्तै गत मार्चमा म्यानमारमा गएको विनाशकारी भूकम्पले अर्बौं डलरको सम्पत्ति क्षति भएको छ। तर, त्यसमध्ये अधिकांश सम्पत्ति बीमाबाट बाहिर रहेको पाइएको छ।
एअनका अनुसार वर्ष २०२४ मा प्राकृतिक विपत्तिबाट विश्वभर ३६८ अर्ब डलरको आर्थिक क्षति भएको छ। यद्यपि, कुल क्षतिको ५४ प्रतिशत अर्थात १४५ अर्ब डलरबराबरको सम्पत्तिमात्रै बीमाको दायरा रहेको पाइएको छ।
एसिया प्रशान्त क्षेत्रमा बीमाको दायरा बढाउनुपर्ने आवश्यक प्रतिवेदनमा औँल्याइएको छ। किनकि एसिया प्रशान्त प्राकृतिक विपत्तिको उच्च जोखिममा रहेको क्षेत्र हो। –एजेन्सी