काठमाडौं । आगामी साताबाट शेयर बजार शुक्रबार पनि सञ्चालन गर्ने तयारी गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एक दलीय सरकारको आज बसेको मन्त्रिपरिषदको बैठकले भोलिदेखि लागू हुने गरी सातामा दुई दिन शनिबार र आइतबार सरकारी कार्यालय तथा शैक्षिक संस्था बिदा दिने निर्णय गरेको छ। हालको पेट्रोलियम पदार्थको आपूर्तिलाई ध्यानमा राखेर सरकारले दुई दिन बिदा दिने निर्णय गरेको हो।
साताका दुई दिन बिदा दिने सरकारको निर्णयसँगै शेयर बजार आगामी सातादेखि सोमबारदेखि शुक्रबारसम्म सञ्चालनमा ल्याउने तयारी भएको हो। ‘यो साताको आज आइतबार शेयर बजार सञ्चालनमा आइसकेको छ’, नेप्से स्रोतले भन्यो, ‘त्यसैले आगामी साता आइतबार बजार बन्द हुनेछ भने शुक्रबार खुला गर्ने तयारी भइरहेको छ।’
बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रवक्ता मुराहरि पराजुलीले सरकारले सातामा दुई दिन शनिबार र आइतबार बिदा दिएकोले शुक्रबार बजार सञ्चालन गर्ने विषयमा नेप्से सञ्चालक समितिले निर्णय गर्ने बताए। ‘यस विषयमा अहिले कुनै कुराकानी भएको छैन। नेप्से सञ्चालक समितिले नै टुंगो लगाउनेछ’, उनले भने।
यसअघि २०७९ जेठ ६ गतेदेखि शेयर बजार शुक्रबार पनि सञ्चालनमा आएको थियो। त्यतिबेला तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि सातामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो।
तर, फेरि तत्कालीन सरकार १ महिना नबित्दै साताको दुई दिन बिदा दिने निर्णय पछि हटेको थियो। तर, २०७९ असार १ गतेदेखि शेयर बजारमा साताको ६ दिन आइतबारदेखि शुक्रबारसम्म खोल्ने निर्णय नेप्सेले गरेको थियो। त्यतिबेला शुक्रबार दिउँसो १ बजेसम्म बजार खुल्थ्यो।
त्यतिबेला केही साता शुक्रबार खुलेको शेयर बजार फेरि व्यवहारिक नभएको भन्दै नेप्सेले शुक्रबार शेयर कारोबार बन्द गर्ने निर्णय गरेको थियो।












