काठमाडौं । नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपांगता र साक्षर नभएका व्यक्तिलाई सरल बैंकिङ सुविधा उपलब्ध गराउन निर्देशन दिएको छ।
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै यस्तो निर्देशन दिएको हो। अब बैंकहरुले ज्येष्ठ नागरिक, अपांगता र साक्षर नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रुपले बैंकिङ सुविधा उपलब्ध गराउन विशेष काउन्टर तोकी सेवा प्रदान गर्नुपर्नेछ।
यसैगरी बैंकहरुले एक आपसमा सहकार्य गरी प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा शाखा अपांगमैत्री बनाउनुपर्नेछ। यस प्रकारको शाखाको विवरण आफ्नो वेबसाइटमा राख्नुपर्नेछ।
बैंकहरुले स्थानीय तहसँग सहकार्य गरी एटीएम लाउन्ज भएका स्थानमा Braille signs control buttons र audio support सहितको कम्तीमा एउटा अपांगमैत्री एटीएम राख्नुपर्नेछ। यस प्रकारको एटीएमको विवरण आफ्नो वेबसाइटमा राख्नुपर्नेछ।
त्यस्तै अपांगगता भएका व्यक्तिले एटीएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङजस्ता वित्तीय सेवाहरु व्यक्ति स्वयंले उक्त सेवा उपयोग गर्न सक्ने स्वघोषणा गरेको खण्डमा बैंकहरुले त्यस्तो सेवा निज व्यक्तिलाई उपलब्ध गराउनुपर्नेछ। बैंक तथा वित्तीयले आफ्नो वेबसाइट तथा मोबाइल बैंकिङ एप दृष्टिसम्बन्धी अपांगता भएका व्यक्तिहरुले समेत प्रयोग गर्न सकिने गरी विकास गर्नुपर्नेछ।
यसका साथै बैंकहरुले आफूले जारी गर्ने डेबिट वा क्रेडिट कार्डमा दृष्टिविहीनमैत्री tactile features राख्नुपर्नेछ।












