काठमाडौं । अब बैंकहरुले आफ्ना कर्मचारीलाई अतिरिक्त समयमा काम गर्न बाध्य पार्न नपाउने भएका छन्।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। निर्देशनबमोजिम अब बैंकहरुले आफ्ना कर्मचारीलाई कार्यालय समयका अतिरिक्त समयमा काम गर्न बाध्य पार्न नपाउने भएका छन्।
यसैगरी कार्यालय समयका अतिरिक्त समयमा खटाउँदा प्रचलित व्यवस्थाबमोजिम बैंकहरुले कर्मचारीलाई अतिरिक्त पारिश्रमिक प्रदान गर्नुपर्ने व्यवस्था मिलाउनुपर्नेछ।
त्यस्तै राष्ट्र बैंक खुलेको दिन तथा राष्ट्र बैंकको बैकिङ कार्यालयले बैंकिङ कारोबार गर्ने समयसम्म बैंकहरुले अनिवार्य रुपमा आफ्नो कार्यालय खोली बैकिङ कारोबार सञ्चालन गर्नु र्नेछ । तर, बैंकहरुले राष्ट्र बैंक खुलेको दिन र समयका अतिरिक्त समय तथा अन्य बिदाका दिन र समयमा आफ्नो कारोबार सञ्चालन गर्ने भएमा राष्ट्र बैंकको बंैक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागमा लिखित रुपमा जानकारी दिनुपर्नेछ।
राष्ट्र बैंकबाट जारी भएको बैंक बिदाको सूचीका अतिरिक्त नेपाल सरकारबाट आकस्मिक बिदा घोषणा भएको दिन नगद कारोबार, चेक क्लियरिङ, आरटीजीएसलगायत अत्यावश्यक बैंकिंग सेवा प्रदान गर्न बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म बैंक तथा वित्तीय संस्थाले आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्ने व्यवस्था मिलाउनुपर्ने संशोधित निर्देशनमार्फत व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले एकीकृत निर्देशन नं. २१ मा बुँदा नं. २३ थप गरी अतिरिक्त कार्यालयसम्बन्धी व्यवस्था थप गरेको हो। यसअघि यी व्यवस्थाहरु रहेका थिएनन्।












