काठमाडौं । बंगलादेशको बीमा नियामक बीमा विकास र नियामक प्राधिकरण (आईडीआरए)ले ६ महिनाभन्दा बढी समयदेखि रिक्त रहेको बीमा कम्पनीमा सीईओ पदपूर्तिका लागि नयाँ नियम लागू गर्ने योजना बनाएको छ।
नयाँ नियमहरुअनुसार कम्पनीले रिक्त पदको ६ महिनाभित्र नियमित सीईओ नियुक्त गर्नुपर्ने र यदि भएन भने नियामकले कम्पनीलाई नियामक पुलबाट दुई उम्मेदवारको विवरण पठाउनेछ। त्यसपछि कम्पनी सञ्चालक समितिले ती दुई उम्मेदवारमध्ये एकलाई नियुक्तिका लागि नियामकलाई प्रस्ताव गर्नुपर्नेछ।
न्यु एजको रिपोर्टका अनुसार नयाँ नियम आईडीआरए, बंगलादेश बीमा संघ र बंगलादेश बीमा फोरम सम्मिलित हालैको कार्यकारी समितिको बैठकमा छलफल गरिएको थियो। आईडीआरएको सीईओ उम्मेदवार पुलमा बीमा क्षेत्रमा कम्तीमा १२ वर्षको अनुभव भएका व्यक्तिहरु समावेश हुनेछन्। जसमा सरकारी स्वामित्वमा रहेको बीमा निगमका सीईओ, अतिरिक्त प्रबन्ध निर्देशक वा महाप्रबन्धकका रुपमा १ वर्ष वा उपप्रबन्ध निर्देशकका रुपमा ३ वर्ष समावेश छ। संशोधित नियममा उपप्रबन्ध निर्देशकका रुपमा सेवा गर्ने उम्मेदवारहरुलाई मुख्य कार्यालयमा कम्तीमा १ वर्षको प्रशासनिक वा गैरविकास अनुभव हुन आवश्यक छ।
हाल बंगलादेशका १५ वटा बीमा कम्पनी ६ महिनाभन्दा बढी समयदेखि सीईओविहीन छन्। –एजेन्सी












