काठमाडौं । सार्वजनिक स्थान र खुला सडकमा भेला भएर होली पर्व नमनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । एक सूचना प्रकाशन गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले होलीको दिन काठमाडौंको सार्वजनिक ठाउँमा होली खेल्न निषेध गरिएको जनाएको हो ।
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै आफ्नो घर कम्पाउन्डमा मात्रै होली खेल्न आग्रह गरेको हो । यसअघिका वर्षहरूमा जिल्ला प्रशासन कार्यालयले ठमेल, दरबारमार्ग र वसन्तपुर लगायतका स्थानमा होलीको अवसरमा साङ्गीतिक कार्यक्रम गर्न अनुमति दिने गरेको थियो ।
यस वर्ष मञ्च बनाएर साङ्गीतिक कार्यक्रम गर्न तथा मादक पदार्थको सेवन र बिक्री वितरणमा पनि रोक लगाएको जनाएको छ । होली खेल्दा राजनीतिक दलको चुनाव चिन्ह र उम्मेदवारका तस्बिर अंकित भेष्ट, टिसर्ट, कमिज र गम्छा जस्ता कपडा प्रयोगमा समेत पूर्ण रूपमा प्रतिबन्ध लगाएको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।













