काठमाडौं । नेपालको प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शानदार विजय हासिल गरेसँगै दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिने संकेत देखिएको छ।
यसै राजनीतिक सरगर्मीका बीच, भारतीय संसदका सदस्य कार्तिकेय शर्माले नेपालका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई यही मार्च १२, १३ र १४ मा नयाँ दिल्लीको भारत मण्डपममा आयोजना हुने एनएक्सटी २०२६ सम्मेलनमा विशिष्ट अतिथिको रूपमा निमन्त्रण गरेका छन् ।
नेपालमा रास्वपाको उदय र क्लिन स्वीप पछि भारतले नयाँ उर्जाका साथ सहकार्य गर्न चाहेको देखिन्छ। प्रधानमन्त्री मोदीले नेपालसँगको सम्बन्धलाई नयाँ उचाइमा पुऱ्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
जवाहरलाल नेहरू विश्वविद्यालका पूर्व विद्यार्थी र नेपालका बौद्धिक राजनीतिज्ञ भएकाले डा. भट्टराईको भारतसँग पुरानो र गहिरो सम्बन्ध छ। यो निमन्त्रणाले नेपालको नयाँ राजनीतिक परिवर्तन र भारतको संस्थापन पक्षबीच एक पुलको काम गर्ने अपेक्षा गरिएको छ। यस सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदी मुख्य अतिथि रहनेछन् भने अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री स्कट मरिसन र स्वीडेनका पूर्व प्रधानमन्त्री फ्रेडरिक रेइनफेल्ड पनि विशिष्ट अतिथिका रूपमा सहभागी हुनेछन्।
नेपालमा राजनीतिक शक्ति सन्तुलन फेरिएका बेला भट्टराईलाई दिल्लीमा दिइएको यो सम्मानले ट्र्याक टू डिप्लोमेसीलाई बल पुऱ्याउने र द्विपक्षीय आपसी अविश्वासलाई कम गर्न मद्दत गर्ने देखिन्छ। सम्मेलनमा आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमता), सुशासन, व्यवसाय र शिक्षाका विषयमा छलफल, प्रस्तुती र गोष्ठीको आयोजना हुनेछ।












