काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि आह्वान गरिएको दरखास्त रद्द गरिएको छ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणाकर भट्ट संयोजक रहेको सिफारिस समितिले तत्कालीन सरकारले गठन गरेको सिफारिस समितिले बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि आह्वान गरिएको दरखास्तलगायतका सम्पूर्ण प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो। तत्कालीन समितिले गत २०८२ भदौ १४ गते एक सूचना जारी गर्दै बीमा प्राधिकरणमा अध्यक्ष नियुक्तिका लागि दरखास्त आह्वान गरेको थियो। दरखास्त अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा भदौ २० गतेसम्म दिने व्यवस्था गरिएको थियो।
त्यतिबेलाको सरकारले तत्कालीन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा शिवराज अधिकारीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो। समितिको सदस्यमा अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यमा डा. खोमराज खरेल थिए।
गत वर्ष भदौ १४ गतेको दरखास्त रद्द भएसँगै अब भट्टको संयोजकत्वमा गठित समितिले बीमा प्राधिकरणमा अध्यक्ष नियुक्तिका लागि नयाँ प्रक्रिया अगाडि बढाउनेछ। यो समितिको सदस्यमा घनश्याम उपाध्याय र विज्ञ सदस्यका रुपमा फत्तबहादुर केसी छन्।
यसअघि क-कसले दिएका थिए आवेदन ?
यसअघि दरखास्त आह्वान गरिएको अन्तिम दिनसम्म १४ जनाले आवेदन दिएका थिए। बीमा प्राधिकरणको अध्यक्ष बन्न उम्मेदवारी दिनेमा घनश्याम बुढाथोकी (ललिपुर), विक्रान्त पाण्डे (काठमाडौं), पारस काफ्ले (भक्तपुर), विष्णबाबु मिश्र (काठमाडौं), बुद्धकाजी श्रेष्ठ (काठमाडौं), डा दमोदर बसौला (कास्की) र चिन्तामणि शिवाकोटी (काठमाडौं) थिए।
यसैगरी ज्ञानेन्द्र अधिकारी (झापा), देवकुमार ढकाल (मोरङ), प्राडा दिपकबहादुर भण्डारी (लमजुङ), डा राजेन्द्र पण्डित (काठमाडौं), यज्ञप्रसाद न्यौपाने (दाङ), रमेशकुमार भट्टराई (काठमाडौं) र महेश्वर न्यौपाने (भक्तपुर)ले पनि प्राधिकरणको अध्यक्ष बन्न आवेदन दिएका थिए।
हाल बीमा प्राधिकरणको अध्यक्षमा सचिव चन्द्रकला पौडेल रहेकी छन्।












