काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर र सञ्चालकको नियुक्ति, कार्यकाल र कार्यानुभवमा सांसदहरुले विभिन्न संशोधन प्रस्ताव पेस गरेका छन्। प्रतिनिधिसभामा दर्ता रहेको नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमा सांसदहरुले संशोधन प्रस्ताव पेस गरेका हुन्।
मूल ऐनको दफा १८ को उपदफा (१)मा हाल गभर्नर डेपुटी गभर्नर र सञ्चालकको कार्यालय ५ वर्ष हुने व्यवस्था रहेको छ। संशोधन पेस गर्दै सांसद सुशील खड्काले त्यसको सट्टा गभर्नर, डेपुटी गभर्नर र सञ्चालकको कार्यकाल ४ वर्ष हुने व्यवस्था गर्न प्रस्ताव गरेका छन्।
अर्का सांसद परशुराम तामाङले पनि मूल ऐनको दफा २० को संशोधनका लागि राखिएको खण्ड (ग)मा संशोधनको प्रस्ताव पेस गरेका छन्।
खण्ड (ग)मा गभर्नर, डेपुटी गभर्नर र सञ्चालकको योग्य तथा कार्यानुभवसम्बन्धी व्यवस्था रहेको छ। संशोधन गर्न बनेको विधेयकमा अर्थशास्त्र, मौद्रिक, बैंकिङ, वित्तीय, तथ्यांक वा लेखा सार्वजनिक, प्रशासन, वाणिज्य, व्यवस्थापन, वाणिज्य कानुन विषयमा मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तहको उपाधि हासिल गरी नेपाल सरकारको विशिष्ट श्रेणी, बैंकको कार्यकारी निर्देशक, विश्वविद्यालयका प्राध्यापक वा अन्तर्राष्ट्रिय वित्तीय संस्थाको कार्यकारी तहको पद वा सोसरहको पदमा कम्तीमा १० वर्षको अनुभव भएको व्यक्ति हुनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
उक्त विधेयकमा संशोधन पेस गर्दै सांसद तामाङले वाणिज्य कानुन शब्द हटाउन र कार्यानुभव १० वर्षको सट्टा ७ वर्ष कायम गर्न प्रस्ताव पेस गरेका छन्।
सांसद कमल सुवेदीले सञ्चालक पदमा नियुक्त हुने व्यक्तिको योग्यतामा ‘सम्बन्धित क्षेत्रमा कम्तीमा १५ वर्षको उच्चस्तरीय अध्ययन, अनुसन्धान वा कार्यानुभव भएको र उच्च नैतिक चरित्र भएको हुनुपर्ने’ शब्द राख्नुपर्ने संशोधन प्रस्ताव पेस गरेका छन्।












