काठमाडौं । एयर इन्डियाको उडान एआई १७१ अहमदाबादमा दुर्घटनाग्रस्त भएपछि १५ करोड डलर (करिब २० अर्ब ६२ करोड रुपैयाँ) सम्मको बीमा दाबी सम्भावना देखिएको छ। दुर्घटनामा विमानमा सवार २४१ जना र विमान ठोक्किएका आवासीय भवनमा बसेका २४ जना गरी कुल २६५ जनाको मृत्यु भएको प्रारम्भिक विवरण आएका छन्।
भारतीय बीमा उद्योग स्रोतहरुका अनुसार यीमध्ये धेरैजसो बीमा दाबी विश्वव्यापी पुनर्बीमा कम्पनीहरुले वहन गर्ने सम्भावना छ। किनकि उड्डययन नीतिहरु प्रायः यस्तो तरिकाले संरचित हुन्छन् कि जहाँ प्राथमिक बीमा कम्पनीले जोखिमको ठूलो हिस्सा पुनर्बीमा कम्पनीलाई हस्तान्तरण गर्दछ।
यी दाबीमा तीन प्रकारका दायित्व समावेश हुनेछन्ः विमानमा क्षति, चालक दलका सदस्यहरुसहित विमानमा सवार व्यक्तिहरुको ज्यान जाने र तेस्रो पक्ष दायित्व किनकि विमान दुर्घटनाग्रस्त भएको ठाउँमा मानिसहरुको मृत्यु भयो। यसबाहेक कार्गो दायित्व पनि समावेश गरिनेछ।
भारतीय बीमा उद्योगका जानकारहरुका अनुसार विमानमा क्षतिका लागि ८ करोड डलरदेखि १० करोड डलरबराबरको दाबी पर्न सक्छ। जब कि चालक दलका सदस्यसहित विमानमा सवार यात्रुको मृत्यु र जमिनमा खसेर ज्यान जानेका लागि ५ करोड डलरबराबरको दाबी गर्न सकिन्छ।
बीमा उद्योगका विज्ञहरुका अनुसार यीमध्ये धेरैजसो दाबी पुनर्बीमकले वहन गर्नेछन्। किनकि भारतीय बीमकहरुले आफ्नो अधिकांश जोखिम पुनर्बीमा गरेका हुन्छन्। कुल दाबीको लगभग १० प्रतिशतमात्र भारतीय बीमक र पुनर्बीमकले वहन गर्नुपर्नेछ।
एयर इन्डियाले आफ्नो फ्लिटका लागि २० अर्ब डलरको बीमा लिएको थियो। यसमा टाटा एआईजी जनरल इन्स्योरेन्स, आईसीआईसीआई लोम्बार्ड जनरल इन्स्योरेन्स, न्यु इन्डिया इन्स्योरेन्स र अन्य सरकारी सामान्य बीमा कम्पनीहरु समावेश छन्। टाटा एआईजीले ३०–४० प्रतिशत जोखिम समेटेको थियो र यो मुख्य प्राथमिक बीमक हो।
यी बीमा कम्पनीहरुले आफ्नो अधिकांश जोखिम पुनर्बीमा गरेका थिए। यो पुनर्बीमा सरकारी कम्पनी जीआईसी रि, अमेरिकी कम्पनी एआईजी र एक्सए एक्सएल आदिसँग गरिएको थियो।
विमान फ्लिट पोलिसीहरु प्रायः पुनर्बीमा गरिन्छ। एयर इन्डियाको हकमा पनि ठूलो रकम पुनर्बीमकहरुले वहन गर्नेछन्। विमानको लागत लगभग ८ करोड डलर हुने कुरामा सहमति भएको छ। यद्यपि, दायित्वको प्रकार बुझ्न यात्रुको राष्ट्रियताले सधैँ महत्वपूर्ण भूमिका खेल्ने भएकोले दायित्व अनुमान गर्न सधैँ गाह्रो हुन्छ।
यसका साथै जमिनमा केही क्षति भएको छ। त्यसैले तेस्रो पक्षको दायित्व पनि हुनेछ। यस्तो अवस्थामा उड्डययन पुनर्बीमकले धेरै छिटो प्रतिक्रिया दिन्छन्। उनीहरुका नियुक्त सर्वेक्षक र वकिलहरु तुरुन्तै काममा लाग्छन्। उनीहरुले मृतकका आफन्तलाई सम्पर्क गर्नेछन् र सकेसम्म चाँडो बीमा दाबी समाधान गर्ने प्रयास गर्नेछन्। तैपनि, यो लामो प्रक्रिया हो। यो घटनाले उड्डययन बीमा दरहरुलाई पनि असर गर्नेछ।
एक वरिष्ठ बीमा अधिकारीका अनुसार विमानको व्यापक बीमा हुन्छ र प्राथमिक बीमा विश्वव्यापी पुनर्बीमकद्वारा पुनर्बीमा गरिन्छ। बीमामा प्रायः विमानमा हुने क्षति, मृत्यु र हताहत तथा चालक दलका सदस्यहरु र कार्गो तथा व्यक्तिगत चोटपटक समावेश हुन्छ।
एयर इन्डियाको उडान एआई१७१ बोइङ ७८७–८ ड्रिमलाइनर विमान थियो। जुन सबैभन्दा आधुनिक यात्रुवाहक विमानमध्ये एउटा हो। यो ड्रिमलाइनर दुर्घटनाको पहिलो घटना हो। यसले सन् २०११ मा आफ्नो पहिलो व्यावसायिक उडान गरेको थियो।
एयर इन्डियाको विमान अहमदाबादमा दुर्घटनाग्रस्तबाट भारतीय उड्डययन जगत स्तब्ध बनेको छ। टाटा समूहले मृतकका परिवार भारु १ करोड क्षतिपूर्ति दिने घोषणा गरिसकेको छ। –एजेन्सी