काठमाडौं । सन् २००९ जनवरी १५ मा अमेरिकाको न्युयोर्क सहरबाट उडान भरेको विमानमा जम्मा १५५ जना सवार थिए। उडान भरेको केही मिनेटपछि चराहरुको बथान विमानसँग ठोक्कियो। यो टक्करपछि पाइलटले तुरुन्तै महसुस गरे कि अब उनी विमानस्थल फर्किन सम्भव छैन। त्यसैले उनले विमानलाई नदीमा अवतरण गरे।
यो यूएस एयरवेजको उडान नम्बर १५४९ थियो। यो घटनालाई ‘मिरेकल अन द हडसन’ पनि भनिन्छ। किनकि विमान न्युयोर्कको हडसन नदीमा अवतरण गरेको थियो। विमानमा सवार सबै मानिस सुरक्षित रुपमा बाँचे। यो अभूतपूर्व ‘वाटर ल्यान्डिङ’ गर्ने पाइलट थिए, चेस्ली सुलेनबर्गर उर्फ सुली।
विमानको दुवै इन्जिन फेल
न्युयोर्कको लागार्डिया विमानस्थलबाट उत्तरी क्यारोलिनाका लागि उडान भरेको भरेको केही मिनेटमै विमान हडसन नदीमा अवतरण गरिएको थियो। विमान उडान भरेको दुई मिनेटपछि नै चराहरुको बथान त्यससँग ठोक्कियो र विमानको दुवै इन्जिन बिग्रियो। यसपछि विमानका अनुभवी पाइलट सुलेनबर्गरले लागार्डियाको हवाई ट्राफिक नियन्त्रणलाई हडसन नदीको पानीमा अवतरण गर्ने प्रयास गर्ने बताए। सन् २०१६ मा यस घटनामा ‘सुली’ फिल्म पनि बनेको थियो। जसमा टम ह्यांक्सले पाइलटको भूमिका निर्वाह गरेका थिए।
यो अत्यन्तै असाधारण र जोखिमपूर्ण काम थियो। चराहरु ठोक्किएको लगभग साढे ३ मिनेटपछि विमान नदीमा अवतरण भयो। यस क्रममा विमानको पछाडिको भाग पहिले पानीमा ठोक्कियो। जसका कारण पानी विमानमा पस्यो। तर, यसले विमानलाई टुक्रा–टुक्रा पारेन।
विमानमा बसेका यात्रुहरु आपतकालीन ढोका र पखेटाबाट विमानबाट बाहिर निस्किए। यस क्रममा विश्वले पानीमा तैरिरहेको विमान र यसको दुवै छेउमा पखेटामा उभिएका यात्रुको अनौठो तस्बिर देख्यो।
अत्यधिक चिसोमा उद्धार कार्य
जब यो विमान नदीमा अवतरण भयो तब हडसन नदीमा पानीको बहाव धेरै छिटो थियो। जनवरी महिना न्युयोर्कमा धेरै चिसो हुन्छ। त्यस दिन तापक्रम माइनस ७ डिग्री सेल्सियसको आसपास थियो। तर, नदीमा विमान अवतरण गरेको केही मिनेटमै नजिकैका डुंगा र अन्य जहाजलाई नदीतिर मोडियो। यो द्रुत प्रतिक्रिया धेरै उपयोगी साबित भयो।
धेरै आशंकाले भरिएको यो अवतरणको बाबजुद केवल एक यात्रु र ५ चालक दलका सदस्यको खुट्टामा चोट लागेको थियो। अवतरणपछि जम्मा ७८ जनालाई सामान्य चिकित्सा उपचार आवश्यक थियो। त्यस समयमा यात्रुहरुको भाग्य, पाइलटको सीप र द्रुत उद्धार प्रयासका कारण सबैजना सुरक्षित रुपमा बाँचेको बताएका थिए।
न्युयोर्कका तत्कालीन मेयर माइक ब्लुमबर्गले भने, ‘पाइलटले नदीमा विमान अवतरण गर्न उत्कृष्ट काम गरे।’
सबैजना अवतरण गरेपछि कोही पनि विमान भित्र फसेको छैन भनी सुनिश्चित गर्न सम्पूर्ण विमान दुईपटक जाँच गरियो। कप्तान सुलेनबर्गरलाई यस घटनाका लागि धेरै प्रशंसा गरिएको थियो तर केही प्रश्न पनि उठेका थिए।
ऐतिहासिक अवतरण गर्ने पाइलट क्याप्टेन सुली
यो मुद्दाको अनुसन्धान अमेरिकी यातायात नियामक राष्ट्रिय यातायात सुरक्षा बोर्डले गरेको थियो। तर, अनुसन्धानले यो पनि निष्कर्ष निकाल्यो कि विमानलाई नदीमा अवतरण गर्ने निर्णय सही थियो। केही दिनमै दुर्घटनाग्रस्त विमानलाई नदीबाट हटाएर अमेरिकाको क्यारोलिनास उड्डयन संग्रहालयमा राखिएको थियो।
क्याप्टेन सुलेनबर्गरले १६ वर्षको उमेरमा आफ्नो उडान तालिम सुरु गरेका थिए। उनले सन् १९७३ मा अमेरिकी वायुसेना एकेडेमीबाट स्नातक गरे। त्यसपछि उनी अमेरिकी वायुसेना लडाकु विमान पाइलटका रुपमा सामेल भए।
सुलेनबर्गरले सन् १९८० मा पाइलटका रुपमा उड्डययनसँग सम्बन्धित निजी क्षेत्रमा प्रवेश गरे। हडसन नदीमा उनको अवतरण विश्वभर प्रसिद्ध आपतकालीन अवतरणको रुपमा चिनिन्छ। हडसन नदीमा आपतकालीन अवतरण हुनुभन्दा पहिले क्याप्टेन सुलेनबर्गरसँग २० हजार घन्टाको उडान अनुभव थियो। उनी लगभग ४० वर्षसम्म पाइलट थिए। – बीबीसीबाट भावानुभावादित