IME Life
GBIME

जीवन बीमा क्षेत्रमा व्यवसायिक अभिकर्ताको खाँचो छ

SPIL
NIC ASIA new
NLIC

नेपालको जीवन बीमाको क्षेत्र हाल बिस्तारित हुँदै गइरहेको छ । बि.सं. २०२९ साल देखि २०६४ साल सम्ममा जीवन बीमाको पहुँच नगन्य मात्रामा भएपनि २०६४ पछि नयाँ ४ वटा कम्पनीहरू आएपछि नेपालमा जीवन बीमाको पहुँचमा सुधार हुँदै गयो । २०७४ सालमा जीवन बीमा बजारमा जब १० वटा नयाँ कम्पनीहरूको प्रवेश भयो तब आक्रामक व्यवसायमा उत्रेका नयाँ कम्पनीहरूले आकर्षक योजनाहरूका साथ विकट स्थानमा समेत आफ्ना शाखा बिस्तार गरि बीमा को पहुँच लाइ बढावा दिन मद्दत गरे ।

यस बिचमा पुराना कम्पनीहरूले पनि प्रतिस्पर्धात्मक वातावरणमा आफुलाई समय सापेक्ष सुधार गर्दै नेपालको जीवन बीमा क्षेत्रलाई माथि उठाउन उच्च भुमिका खेलेका छन् । २०७५ फाल्गुण मसान्त सम्म बीमाको पहुँच १७.६ प्रतिशत रहेकोमा २०७६ को फाल्गुण मसान्त सम्म आइपुग्दा यो बढेर २२ प्रतिशत पुगेको छ यसले सम्पुर्ण बीमा व्यवसायीहरू लाई उत्साहित बनाएको छ । बीमाशुल्क संकलन का हिसाबले पनि यस आर्थिक वर्ष मा जीवन बीमा कम्पनीहरूले करिब रू. ९० अर्ब र निर्जिवन बीमा कम्पनीहरूले रू. २५ अर्ब गरि कुल १ खर्ब १५ अर्ब बीमाशुल्क संकलन हुने आँकडा बीमा समितिले प्रस्तुत गरिसकेको छ ।

Crest

यसरी साह्रै उत्साहप्रद तरिकाले बीमा व्यवसायको बिस्तार भइरहेको परिप्रेक्ष्यमा कुल ग्राहस्थ उत्पादनमा ७४ ̸ ७५ सम्म करिब १ प्रतिशत को हाराहारीमा योगदान दिएको बीमाक्षेत्र ले ७५ ̸ ७६ मा २.६ प्रतिशत र यस आर्थिक वर्ष २०७६ ̸ ७७ मा करिब ३.४७ प्रतिशतको योगदान दिने प्रक्षेपण गरिएको छ । यसले नेपालमा बीमा क्षेत्रको विगतको स्थिति र हालको सकारात्मक परिवर्तन लाइ सजिलै नियाल्न सकिन्छ । नेपालमा बीमा व्यवसायको प्रचुर सम्भावना र अवसर हुँदाहुदै पनि जीवन बीमा को बारेमा आम सर्व साधारणमा को बुझाई त्यति सकारात्मक भएको पाइँदैन । अहिले पनि बीमा पोलिसी बुझेर त्यस बीमालेख ले दिने सुविधा हरूको बारेमा जानेर भन्दा पनि साथीभाइ इष्टमित्रहरूको अनुरोध लाइ टार्न नसकेर बीमा गर्नेहरूको संख्या अधिक छ ।

बीमितहरू मध्ये धेरै लाई तपाँई ले बीमा किन गर्नुभएको भनेर सोध्यो भने धेरैको साझा उत्तर आउँछ कि उसले गर राम्रो हुन्छ भन्यो अनि गरेको, तपाईको बीमालेखबाट के के सुविधा प्राप्त हुन्छ भन्ने प्रश्न गर्नुभयो भने धेरै जनालाई त्यसको उत्तर थाहा हुन्न । थाहा भएकालाई पनि थोरै कुरा मात्र थाहा हुन्छ । यसरी बीमालेखबाट प्राप्त हुने सुविधा तथा शर्तहरूको बारेमा जानकारी नलिइकन बीमा गर्ने र गराउने परिपाटीले सम्पुर्ण बीमा क्षेत्रलाई नकारात्मक असर पुगेको छ ।

जीवन बीमा गर्ने हरेक ब्यक्तिले बीमा योजनाको अवधि, बीमाङ्क रकम, तिर्ने तरिका, मोहलत अवधि, समयमा नतिरेमा हुने बेफाइदाहरू, आंशिक तथा पुर्ण अवधि दाबी बारेको जानकारी, बीमालेख पुनर्जागरण, बीमालेख जफत, बीमालेखमा चुक्ता मुल्य, समर्पण मुल्य, बीमालेख ऋण, इच्छाइएको ब्यक्ति परिवर्तन, बीमा अवधि समाप्तीमा प्राप्त हुने रकम, अवधि समाप्तिपछि पनि रक्षावरण हुने जोखिम हरूको जानकारी, बीमा अवधि भित्रै मृत्यु /अशक्त /धातक रोग भएमा बीमालेख बाट प्राप्त हुने रकम र प्रकृया, जुटाउनुपर्ने कागजातहरू आदि जानकारी लिनैपर्छ । कतिपय यस्ता जानकारीहरू बीमालेखमा नै उल्लेख गरिएको हुन्छ । यस्तै निर्जीवन बीमा गराएकाहरूले पनि बीमालेखमा लेखिएको सम्पुर्ण कुराहरू ध्यान दिएर पढ्न जरूरी छ । बीमितले बीमा गर्ने बेलामा पर्याप्त जानकारी विना बीमा गरेमा दाबी भुक्तानी लिने बेलामा समस्या हुने तथा बीमालेखबाट प्राप्त हुने अन्य सुविधाहरूको उपभोग गर्नबाट बीमितहरू वञ्चित हुन सक्छन् ।

यस्ता बीमितले भोग्नुभएका समस्याहरू को समाधानका लागि एकातिर बीमित नै जागरूक हुनु आवश्यक छ भने अर्कातिर बीमा कम्पनीका अभिकर्ताहरू बीमा सम्बन्धी जानकार हुनु आवश्यक छ । जीवन बीमा ब्यवशायमा अभिकर्ताहरूको प्रमुख भुमिका रहेको हुन्छ । अझ बिस्तृत रूपमा भन्नुपर्दा अभिकर्ताले बीमा गर्ने ब्यक्तिलाइ कसरी बुझाएको छ भन्ने कुराले आम सर्वसाधारणमा बीमा बारेको धारणा प्रतिबिम्बित गर्दछ । अभिकर्ताले बीमितलाई राम्रोसँग बुझाउनको लागि पहिले अभिकर्ताले नै राम्ररी बुझेको हुनुपर्दछ । कम्पनीहरूले संचालन गरेको आधारभुत तालिममा पर्याप्त समय नदिने, बीमाको बारेमा जानकारी लिन नखोज्ने र अभिकर्ताले प्राप्त गर्ने आर्थिक पाटोबाट मात्र बीमा ब्यवशाय लाई लिने अभिकर्ताहरूको परिपाटिले गर्दा बीमा व्यवसायमा दिगोपन तथा दिर्घकालिन व्यवसायिक  सोचको विकास हुन सक्दैन ।

जीवन बीमा व्यवसायमा सफल बीमा अभिकर्ताहरू त्यतिकै सफल भएका होइनन् उनिहरूमा बीमाको बारेमा बुझाउन सक्ने क्षमता, लगनशिलता, मेहनत, इमान्दारिता तथा व्यवसायिक गुण भएका कारण ले हो । हाल नेपालमा १ लाख ५० हजार को हाराहारीमा सकृय अभिकर्ताहरू रहेका छन् जस मध्ये अभिकर्ता पेशालाई नै आफ्नो मुल पेशा बनाएर बीमा लाई नै व्यवसायको रूपमा अघि बढाउने संख्या नगण्य मात्र छ । अभिकर्ता तालिम लिएर आफ्ना साथिभाई, इष्टमित्रहरू, छिमेकीहरू लाई बीमा गराएर निष्कृय बस्ने अभिकर्ताको संख्या अधिकतम छ जसले गर्दा बीमा गराएकाहरूले नविकरण किस्ता नियमित नगर्दा बिचमा भवितब्य पर्दा बीमालेखबाट प्राप्त हुने सम्पुर्ण सुविधा प्राप्त नहुने, समर्पण गर्ने आदि कारणले गर्दा बीमितमा  नकारात्मक सोचको विकास हुन पुगेको छ । बीमा गराइसकेपछि थप १,२ किस्ता सम्म अभिकर्ता ले बीमितलाई सम्पर्क गर्ने त्यसपछि अभिकर्ता सम्पर्क विहिन हुने जस्ता कारणले पनि जीवन बीमा बारेको नकारात्मक सोचमा मलजल गरेको पाइन्छ ।

नेपालमा बिशेष गरि जीवन बीमा को क्षेत्रमा आजको टड्कारो आवश्यकता भनेको नै अभिकर्ताहरूलाई बीमाको बारेमा सुसुज्जित गर्दै बढीभन्दा बढी सिकाउँदै उनिहरूलाई व्यवसायिक तरिकाले अघि बढ्न प्रेरित गर्नु नै हो । यदि अभिकर्ताहरू व्यवसायिक हुने हो भने दिर्घकालिन सोच र लक्ष्यका साथ उनिहरू सर्व साधारणमा पुग्दछन् । उनिहरूले क्षणिक लाभ लाई भन्दा पनि बीमितको हित तथा भविश्यमा बीमितले दिने पृष्ठपोषण लाई मुल्यवान् सम्झन्छन् । उनिहरूमा बीमित, बीमा कम्पनी र समग्र बीमा उद्ध्योग को हितमा सोच्न सक्ने क्षमता हुन्छ । व्यवसायिक अभिकर्ता उत्पादनका लागि कम्पनीहरूले गर्ने अभिकर्ता तालिम लाई प्रभावकारी बनाई बीमाको प्राविधिक ज्ञान प्रदान गर्नु आवश्यक छ । साथै कम्पनीमा कार्यरत व्यवसायिक अभिकर्ताहरूको लागि कम्पनीले आकर्षक प्याकेज उपलब्ध गराउन सक्नुपर्छ तब उक्त अभिकर्ताले सहज जीवनयापन गर्नका लागि अन्य कुनै पेशा वा जागिर खोज्नु पर्ने अवस्था आउँदैन ।

अभिकर्ता लाई आर्थिक पाटोबाट मात्र नभई सामाजीक सेवा तथा सहयोगको भावना अनुरूप नागरिकको भविष्य उज्ववल बनाउने गर्विलो पेशा, दुःख सुखको साथिको रूपमा समाजमा चित्रित गराउनु आजको आवश्यकता हो । देशका समस्त नागरिकहरूलाई बीमाको दायरामा ल्याएर आज पनि भोलि पनि, बचत पनि सुरक्षा पनि नारामा समाहित गरि देशवासी को भविष्य उज्ववल बनाउने दायित्व हाम्रो काँधमा छ ।

(धिमाल महालक्ष्मी लाईफ इन्स्योरेन्सका एजेन्सी तथा तालिम बिभाग प्रमुख /कानुन अधिकृत हुन्।) 

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सिताराम धिमाल
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS