म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा परेको भीषण असिनाका कारण भित्र्याउने बेलाका १५ हजार मुरी धान उत्पादन हुने खेतमा पूर्ण क्षति पुगेको छ ।
असिनाका कारण ७५ लाख बराबरको धानबालीमा क्षति पुगेको बेनी नगरपालिका–२ ज्यामरुककोटका अध्यक्ष हिराबहादुर थापाले बताए । बडादशैँका दिन मंगलवार अपराह्न २ बजेदेखि परेको भीषण असिनाका कारण ज्यामरुककोटको गौश्वारा, तमाने, विमिराबोट, फापरखेतलगायत ठाउँमा लगाएको धानबाली, कोदो, फलफूल लगायतको बालीमा क्षति पुगेको हो ।
असिनाका कारण सयौँ किसानको खेतमा लगाएको धानबालीमा क्षति पुगेको हो । ज्यामरुककोटको गौश्वारा, तमाने र विमिराबोट क्षेत्रका ३०० घरपरिवारमध्ये १५० घरपरिवारको खेतमा लगाएको धानबालीमा पूर्ण क्षति पुगेको छ भने १५० परिवारको खेतमा भने आंशिक क्षति पुगेको बेनपा–२ का वडा सदस्य डम्मरबहादुर पोख्रेलले बताए ।
असिना पीडित भद्रबहादुर रिजालका अनुसार ५२ मुरी धान उत्पादन हुने खेतमा लगाइएको धान असिनाले एक दाना पनि काम नलाग्ने गरी झारेको छ । खेतमा धानको नल मात्र बाँकी रहेको छ भने दाना एउटा पनि छैन ।
बेनपा–२ का वडाअध्यक्ष हिराबहादुर थापाले असिनाका कारण १५ हजार मुरी धान क्षति भएको र यसबाट कृषकलाई ७५ लाख बराबरको नोक्सान भएको बताए । वडाध्यक्ष थापाका अनुसार विपद्कालीन बैठक बसेर क्षतिको यथार्थ विवरण संकलन कार्य भइरहेको र एक–दुई दिनभित्रमा वास्तविक क्षतिको विवरण सार्वजनिक गरिनेछ । सो क्षेत्रका किसानले बाली बीमा नगरेका अनुमान गरिएका कारण बीमा दावी पर्ने वा नपर्ने एकिन हुन सकेको छैन । -रासस
















