काठमाडौं । त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गतको गणित विज्ञान स्कूलले स्नातक तहको एक्चुअरियल साइन्स अर्थात गणित विज्ञान कार्यक्रममा स्नातक तहका लागि भर्ना खुलाएको छ।
सेमेस्टर प्रणालीमा आधारित यो चारवर्षे (आठ सेमेस्टर) कोर्षमा भर्ना हुन इच्छुक विद्यार्थीका लागि नयाँ भर्ना कार्यक्रम प्रकाशित गरिएको हो।
भर्ना आवेदन दिनका लागि विद्यार्थीले उच्च माध्यमिक/माध्यमिक विद्यालयको जुनसुकै धारबाट १०+२ को परीक्षामा १०० पूर्णांकको गणित वा वाणिज्य गणित विषयमा कम्तीमा ‘सी’ ग्रेडसहित फाइनल सीजीपीए न्यूनतम १.८ प्राप्त गरेको हुनुपर्नेछ वा मान्यता प्राप्त शिक्षण संस्थाबाट १०० पूर्णांकको गणित वा वाणिज्य गणित विषय लिई दोस्रो श्रेणीमा उत्तीर्ण भएको हुनुपर्नेछ।
यसबाहेक ए लेभल परीक्षामा १०० पूर्णांकको गणित विषय लिई न्यूनतम ‘डी’ ग्रेड ल्याई उत्तीर्ण भएको हुनुपर्ने वा सीटीईभीटीअन्तर्गत जुनसुकै विषयमा तीनवर्षे डिप्लोमा तहमा १०० पूर्णांकको गणित लिई कम्तीमा द्वितीय श्रेणीमा उत्तीर्ण गरेको हुनुपर्नेछ।
असार १० गतेदेखि साउन ७ गते बेलुका ५ बजेसम्म स्कुलको आधिकारिक वेबसाइट https://sms.tu.edu.np मार्फत अनलाइन फाराम भर्न सकिनेछ।
विद्यार्थीको छनोट लिखित परीक्षा, अन्तर्वार्ता र शैक्षिक योग्यताको प्राप्तांकका आधारमा (कुल १०० पूर्णांक) योग्यताक्रम सूचीअनुसार गरिने विश्वविद्यालयले जानकारी दिएको छ। मूल्यांकनका लागि लिखित परीक्षा ८० अंक, अन्तर्वार्ता १० अंक र शैक्षिक योग्यता १० अंक भार दिइएको छ।
कक्षा ११ र १२ वा सोसरहको पाठ्यक्रममा आधारित गणित (४० अंक), अंग्रेजी (२० अंक) र सामान्यज्ञान (२० अंक) विषयको १ घन्टा ४५ मिनेटको ८० पूर्णांकको बहुउत्तर प्रश्नावली सोधिनेछ। लिखित परीक्षामा उत्तीर्ण हुन न्यूनतम ३५प्रतिशत अंक प्राप्त गर्नुपर्नेछ।
गणित विज्ञान स्कुलका अनुसार विद्यार्थी भर्नाका लागि लिखित परीक्षा श्रावण ११ गते सोमबार बिहान ८ः०० बजे सञ्चालन हुनेछ। विद्यार्थीले नमुना प्रश्नपत्र स्कुलको वेबसाइटबाट प्राप्त गर्न सक्नेछन् । विद्यार्थी भर्नका लागि जम्मा ४० सिट निर्धारण गरिएको छ। यसमा ३२ जना खुला र ८ जना समावेशी कोटाका लागि छुट्याइएको छ।
हरेक सेमेस्टरमा एकजना छात्र र एकजना छात्रालाई जेहेन्दार छात्रवृत्ति तथा १० प्रतिशत विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति प्रदान गरिने स्कुलका निर्देशकद्वारा जारी सूचनामा उल्लेख छ।












