काठमाडौं । लघु निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको ११ महिना (साउन–जेठ)सम्म १ अर्ब १९ करोड रुपैयाँ बढीको व्यापार गर्न सफल भएका छन्।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको जेठसम्म ४ वटा लघु निर्जीवन बीमा कम्पनीले १ अर्ब १९ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन्। यो अवधिसम्म कम्पनीहरुले ४ लाख ५५ हजार ६१२ वटा बीमालेख जारी गरेका छन्।
समीक्षा अवधिसम्म सर्वाधिक व्यापार भित्र्याउनेमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले १ लाख ३१ हजार ४२४ वटा बीमालेख जारी गर्दै ३४ करोड ६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ।
यसैगरी दोस्रोमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ। कम्पनीले जेठसम्म १ लाख १० हजार ६४ वटा बीमालेख जारी गर्दै २९ करोड ७३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।
जेठसम्म स्टार माइक्रो इन्स्योरेन्सले १ लाख २५ हजार ९६५ वटा बीमालेख जारी गर्दै २८ करोड ५३ लाख रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्सले ८८ हजार १५९ वटा बीमालेख जारी गर्दै २७ करोड ३५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।












