काठमाडौं । कृषकलाई बीमाको दायरामा ल्याउने उद्देश्यले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड सल्यान शाखाले बागचौर नगरपालिका–७ मा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
बुधबार वडा कार्यालयमा आयोजित कार्यक्रममा एनएलजी इन्स्योरेन्स सल्यान शाखाका प्रमुख अनुराग बोहराले कम्पनीले गाउँ–गाउँ र कृषकको घरदैलोमा पुगेर बीमासम्बन्धी जनचेतना फैलाउने अभियान सञ्चालन गर्दै आएको र त्यसको सकारात्मक प्रभाव देखिन थालेको बताए । उनले कृषि तथा पशुपन्छी बीमाले कृषकलाई जोखिम व्यवस्थापन र आर्थिक सुरक्षामा महत्वपूर्ण सहयोग पुर्याउने उल्लेख गर्दै अधिकतम कृषकलाई बीमाको पहुँचमा ल्याउन कम्पनी प्रतिबद्ध रहेको जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा बागचौर–७ का वडा अध्यक्ष प्रेमबहादुर डाँगीले कार्यक्रममा प्राप्त जानकारीलाई टोल–टोलसम्म पुर्याई कृषकलाई बीमाप्रति सचेत बनाउन आग्रह गरे । उनले प्राकृतिक विपत्ति, रोगव्याधि तथा अन्य जोखिमका कारण हुने क्षतिको अवस्थामा बीमाले कृषकलाई राहत प्रदान गर्ने भएकाले यसको आवश्यकता बढ्दो रहेको बताए ।
कार्यक्रममा कृषि तथा पशुपन्छी बीमाका प्रावधान, बीमा दाबी प्रक्रिया, आवश्यक कागजात तथा बीमाबाट प्राप्त हुने लाभबारे विस्तृत जानकारी दिइएको थियो। खाद्यबाली, तरकारीबाली, फलफूल तथा अन्य कृषि उत्पादनसम्बन्धी बीमाका विषयमा समेत छलफल गरिएको थियो।
सहभागीहरूलाई कृषि तथा पशुपन्छी बीमाको ALIS System सम्बन्धी जानकारी दिँदै बीमा जारी गर्ने देखी दाबी भुक्तानी सम्म का सबै प्रकृयाहरु अनलाइन माध्यमबाट हुने व्यवस्था रहेको जानकारी गराइएको थियो। यसले बीमा प्रक्रियालाई थप पारदर्शी, सरल र प्रभावकारी बनाएको बताइएको छ।
शाखा प्रमुख बोहराले नेपाल सरकारले उपलब्ध गराउँदै आएको बीमा शुल्कमा ८० प्रतिशत अनुदानको व्यवस्था यथावत् रहेको उल्लेख गर्दै कृषकलाई यसको अधिकतम लाभ लिन आग्रह गरे । साथै आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने बताए ।
कार्यक्रममा बागचौर नगरपालिका–७ का विभिन्न टोलबाट ७८ जना कृषक तथा सरोकारवालाको सहभागिता रहेको थियो। सहभागीहरूले कार्यक्रमलाई उपयोगी र फलदायी भएको प्रतिक्रिया दिएका थिए।
कार्यक्रम सञ्चालन भरत रोकायले गरेका थिए भने कार्यक्रममा पशु स्वास्थ्य अधिकृत टेकबहादुर बस्नेत, वडा सदस्यहरू डिलबहादुर ओली र दामोदर ओली, वडा सचिव कृष्ण कँडेल, वडा पशु प्राविधिक ललित खड्का लगायत जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय अगुवाहरूको उपस्थिति रहेको थियो।
एनएलजी इन्स्योरेन्स कम्पनीले कृषी बीमा प्रवर्धनका लागी देशका बिभिन्न जिल्ला तथा पालिकाहरुमा बीमा सचेतना कार्यक्रमहरु संचालन गर्दै आईरहेको कम्पनीका बिजनेश कोअर्डिनेटर सुनील श्रेष्ठले जानकारी दिए ।












