काठमाडौं । लघु जीवन बीमकले चालु आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमास (साउन–चैत)सम्म साढे ८४ करोड रुपैयाँ बढीको व्यापार भित्र्याएका छन्।
नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ३ वटा लघु जीवन बीमा कम्पनीले ८४ करोड ५६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन्। यो अवधिसम्म यी बीमकको सक्रिय बीमालेख संख्या २४ लाख ४० हजार ५७ वटा रहेको छ।
चैतसम्म सर्वाधिक व्यापार भित्र्याउनेमा क्रेष्ट माइक्रो लाइफ रहेको छ। यो कम्पनीले ३० करोड ५४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। यस अवधिसम्म कम्पनीको सक्रिय बीमालेख संख्या ५ लाख ७२ हजार ५१२ वटा रहेका छन्।
चालु आर्थिक वर्षको चैतसम्म गार्डियन माइक्रो लाइफले ३० करोड ४० लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले २३ करोड ६० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। यस अवधिसम्म गार्डियन माइक्रो लाइफको सक्रिय बीमालेख संख्या १४ लाख ६९ हजार ३७८ वटा र लिबर्टी माइक्रो लाइफको ३ लाख ९८ हजार १६७ वटा रहेको छ।












