IME Life New

विदेशी फ्रेन्चाइज डिग्रीबाट टाढा रहन किन सुझाए उद्यमी रुद्रराज पाण्डेले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा पछिल्ला दुई दशकमा तीब्र रूपमा फैलिएका विदेशी नामधारी निजी कलेजहरू फेरि एकपटक विवादको केन्द्रमा आएका छन्। डियरवाक ग्रुपका प्रवर्द्धक तथा सूचना प्रविधि क्षेत्रमा परिचित उद्यमी रुद्रराज पाण्डेले सार्वजनिक रूपमा ती कलेजहरूमाथि गम्भीर आरोप लगाएपछि शिक्षा क्षेत्र तातिएको छ।

फेसबुक पेजमार्फत् सार्वजनिक श्रव्यदृश्यमार्फत् दिइएको अभिव्यक्तिमा उद्यमी पाण्डेको भनाइ छ,“ब्रिटिश, बोस्टन, टेक्सस, प्रिन्स जस्ता नाम राखेर खोलिएका कलेजहरू शिक्षा होइन, फ्रेन्चाइज व्यापार हुन्।”

Esewa
Crest

उनको भाषण भावनात्मक मात्र थिएन, त्यसमा शैक्षिक मान्यता, डिग्रीको अन्तर्राष्ट्रिय स्वीकार्यता, र विद्यार्थीको भविष्यसँग जोडिएका गम्भीर प्रश्नहरू उठाइएका थिए।

फ्रेन्चाइज डिग्री भनेको के हो ?

फ्रेन्चाइज डिग्रीको अर्थ हो, विदेशको कुनै विश्वविद्यालयले आफ्नो पाठ्यक्रम र डिग्री स्थानीय निजी कलेजलाई पढाउन दिने, तर कलेज र विश्वविद्यालय भौगोलिक, प्रशासनिक र शैक्षिक रूपमा अलग हुने मोडल।

पाण्डे यसलाई उदाहरण दिँदै भन्छन्, “हिमालयन जाभा क्याफेले पैसा लिएर अरूलाई अाफ्नो ब्रान्ड प्रयोग गर्न दिएजस्तै हो। कलेज यहाँ, विश्वविद्यालय त्यहाँ।” समस्या यहीबाट शुरू हुन्छ।

पाण्डेका गम्भीर आरोपहरूः

उनका अनुसार यस्ता फ्रेन्चाइज कलेजबाट लिएको ब्याचलर डिग्रीलाई धेरै प्रतिष्ठित विदेशी विश्वविद्यालयहरूले मास्टर्स वा पीएचडीका लागि स्वीकार गर्दैनन्।विद्यार्थीहरूलाई “यूके रअष्ट्रेलिया जान सजिलो” भनेर आकर्षित गरिन्छ, तर पछि अस्वीकृति पत्र (रिजेक्सन लेटर) मा ‘तपाईंको ब्याचलर नै ब्याचलर होइन’ भनेर फर्काइन्छ।

नेपालमा ती डिग्रीहरू त्रिभुवन विश्वविद्यालय वा अन्य सार्वजनिक विश्वविद्यालयबाट पूर्ण रूपमा मान्यता प्राप्त हुँदैनन्, तर यो कुरा भर्ना गर्दा स्पष्ट रूपमा भनिँदैन।

सरकार, शिक्षा मन्त्रालय र नियामक निकाय मौन बसेका छन्। यी आरोप केवल व्यक्तिगत आक्रोश हुन् त ? यो प्रश्न अत्यन्त महत्वपूर्ण छ।

रुद्रराज पाण्डे स्वयं त्रिभुवन विश्वविद्यालयसँग आबद्ध कलेज सञ्चालन गर्छन्। त्यसैले आलोचकहरू भन्छन्, “के उनी आफ्नै व्यवसाय जोगाउन विदेशी कलेजहरूलाई बदनाम गरिरहेका हुन् ?” तर तथ्यहरू हेर्दा, उनका सबै कुरा निराधार छन् भन्न मिल्दैन।

सरकारी चेतावनी र विद्यार्थीका गुनासाः

शिक्षा मन्त्रालयले विगत केही वर्षमा पटक पटक विदेशी विश्वविद्यालयसँग आवद्ध कलेजहरूमा भर्ना हुनु अघि सावधानी अपनाउन सार्वजनिक सूचना जारी गरेको छ।केही कलेजहरूविरुद्ध अनुमति नलिई कक्षा सञ्चालन गरेको, शुल्क पारदर्शी नभएको, र झुटा आश्वासन दिएको उजुरी परेका छन्।

काठमाडौँका केही चर्चित विदेशी आवद्ध कलेजहरू जस्तै ब्रिटिश कलेज, इस्लिङ्गटन कलेजमा विद्यार्थीहरूले आन्दोलनसमेत गरेका छन् , जहाँ उनीहरूले “विदेशी अध्ययन अवसर” भनेर ठगिएको आरोप लगाएका छन्।

सार्वजनिकरूपमा प्राप्त जानकारी र उपलब्ध तथ्यहरूले पाण्डेको भनाइलाई पूर्ण रूपमा खारेज गर्न नसकिने देखाउँछ।

के सबै विदेशी आबद्ध कलेज खराब हुन् ?

होइन। यो पनि सत्य हो कि, केही कलेजहरू वास्तविक रूपमा विदेशी विश्वविद्यालयसँग औपचारिक सम्झौता गरेर कक्षा सञ्चालन गरिरहेका छन्। कतिपय विद्यार्थीहरू ती कलेजबाट पढेर विदेशमा काम र थप अध्ययनमा सफल पनि भएका छन्।

तर समस्या सूचना लुकाइने, डिग्रीको सीमाबारे स्पष्ट नबताइने, र ‘विदेश जाने ग्यारेन्टी’ जस्तो भ्रम बेचिने प्रवृत्ति हो।

पाण्डेको कडा सन्देशः 

उनको भाषणको केन्द्रविन्दु यही हो, “यदि तपाईको लक्ष्य यहाबाट भागेर यूकेरअष्ट्रेलिया सेटल हुनु मात्र हो भने जे पढे पनि फरक पर्दैन। तर यदि तपाईको लक्ष्य राम्रो एकेडेमिक करियर, रिसर्च, पीएचडी, र विश्वमा केही योगदान गर्ने हो भने, फ्रेन्चाइज ब्याचलरबाट टाढा रहनुहोस्।”

सबै विदेशी–आबद्ध कलेजलाई “स्क्याम” भन्नु अति सरलीकरण हो। तर सबै सुरक्षित, मान्य र दीर्घकालीन रूपमा उपयोगी छन् भन्ने सोच पनि खतरनाक भ्रम हो।

व्यापारी भएकाले पाण्डेको आलोचनामा व्यावसायिक स्वार्थ मिसिएको हुनसक्छ, तर उनका धेरै आरोपहरू विद्यार्थी अनुभव, सरकारी चेतावनी र नीतिगत कमजोरीसँग मेल खान्छन्।

विद्यार्थी ठगिन नदिन सरकारले के गर्ने?

सरकारले कुन कलेजको कुन डिग्री कहाँ मान्य छ भन्ने स्पष्ट सार्वजनिक सूची निकाल्नुपर्छ। कलेजहरूले भर्ना गर्दा डिग्रीको सीमाना, जोखिम र भविष्य स्पष्ट लेखेर दिनुपर्ने व्यवस्था हुनुपर्छ। अभिभावक र विद्यार्थीले विदेशी नामभन्दा पनि शैक्षिक मान्यता र दीर्घकालीन लक्ष्य हेरेर निर्णय लिनुपर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS