IME Life New

चुनौती बन्दै गैरबैंकिङ सम्पत्ति व्यवस्थापन, एक वर्षमै रु. १२ अर्ब बढी थपियो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं। बैंक तथा वित्तीय संस्थामा समयमै कर्जा असुली हुन नसक्दा गैरबैंकिङ सम्पत्ति उल्लेख्य रुपमा बढेको छ। धितो स्वरुप बैंकहरुले सकार्ने घरजग्गा, सवारीसाधन तथा अन्य सम्पत्तिको परिमाण पछिल्लो १ वर्षमै ठूलो दरले बढ्दा बैंकिङ क्षेत्रको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२।८३ को कात्तिक मसान्तसम्म बैंक तथा फाइनान्स कम्पनीहरुको गैरबैंकिङ सम्पत्ति ५१ अर्ब ७ करोड ६० लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्ष २०८१।८२ को सोही अवधिमा यस्तो सम्पत्ति ३८ अर्ब २६ करोड १० लाख रुपैयाँ थियो। पछिल्लो १ वर्षमै गैरबैंकिङ सम्पत्ति १२ अर्ब ८१ करोड ५० लाख रुपैयाँले बढेको देखिन्छ।

Esewa
Crest

सोही अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको औसत निष्क्रिय कर्जा (एनपीएल) पनि बढेको छ। चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म औसत निष्क्रिय कर्जा ५.२६ प्रतिशत पुगेको छ। जब कि गत आर्थिक वर्षको सोही अवधिमा यो ४.४२ प्रतिशतमात्र थियो। निष्क्रिय कर्जा बढेसँगै बैंकहरु धितो सकार्न बाध्य हुँदा गैरबैंकिङ सम्पत्ति पनि समानान्तर रुपमा बढेको बैंकरहरु बताउँछन्।

सुस्त अर्थतन्त्रको कारण ऋणीको ऋण तिर्ने क्षमतामा ह्रास आएको छ। यसबाहेक कतिपयले ऋण मिनाहा हुने अपेक्षाका कारण पनि तिर्न नखोजेको देखिएको बैंकरहरु बताउँछन्। साथै, असुलीमा पनि विभिन्न बाधा–अड्चन आइरहेका कारण र समन्वय अभाव हुँदा पनि असुली हुन सकिरहेको छैन। यसले बैंकिङ क्षेत्रमा दवाव बढाइरहेको छ।

वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्तिको भार बढी

वाणिज्य बैंकहरुमा गैरबैंकिङ सम्पत्ति सबैभन्दा धेरै देखिएको छ। कात्तिक मसान्तसम्म सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुमा औसत ५.०३ प्रतिशत कर्जा निष्क्रिय हुँदा गैरबैंकिङ सम्पत्ति ४३ अर्ब १९ करोड रुपैयाँबराबर रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुमा निष्क्रिय कर्जा ४.५३ प्रतिशत र गैरबैंकिङ सम्पत्ति ३२ अर्ब ३३ करोड ७० लाख रुपैयाँ मात्र थियो। एक वर्षमै वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति १० अर्ब ८५ करोड रुपैयाँभन्दा बढीले बढेको छ।

विकास बैंक र फाइनान्स कम्पनीमा पनि वृद्धि

विकास बैंकहरुमा पनि गैरबैंकिङ सम्पत्ति बढेको छ। कात्तिक मसान्तसम्म सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरुमा औसत ६.०३ प्रतिशत कर्जा निष्क्रिय हुँदा ४ अर्ब ८४ करोड ३० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरुमा निष्क्रिय कर्जा ४.३७ प्रतिशत र गैरबैंकिङ सम्पत्ति ३ अर्ब ६६ करोड ३० लाख रुपैयाँ थियो।

फाइनान्स कम्पनीहरुको अवस्था झनै चुनौतीपूर्ण देखिएको छ। चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरुमा निष्क्रिय कर्जा १२.५२ प्रतिशत पुगेको छ। सोही अवधिमा गैरबैंकिङ सम्पत्ति ३ अर्ब ४ करोड ३० लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्स कम्पनीहरुमा निष्क्रिय कर्जा १०.८४ प्रतिशत र गैरबैंकिङ सम्पत्ति २ अर्ब २६ करोड १० लाख रुपैयाँ थियो।

जानकारका अनुसार गैरबैंकिङ सम्पत्ति बढ्नु बैंकिङ क्षेत्रका लागि दीर्घकालीन जोखिमको संकेत हो। बैंकको पुँजी घरजग्गा र स्थिर सम्पत्तिमा अड्किँदा कर्जा विस्तार क्षमता घट्ने, नाफामा दबाब पर्ने र तरलता व्यवस्थापन जटिल हुने अवस्था आउन सक्छ।

एक वर्षमै गैरबैंकिङ सम्पत्तिमा दोहोरो अंकको वृद्धि देखिनुले कर्जा असुली, धितो व्यवस्थापन र सम्पत्ति बिक्री प्रक्रियामा कमजोरी रहेको देखाउँछ। बजार सुस्त रहँदा लिलामीमार्फत सम्पत्ति बिक्री गर्न कठिन भइरहेको भन्दै जानकारहरुले प्रभावकारी व्यवस्थापन र नीतिगत सुधारको आवश्यकता औंल्याएका छन्।

विगतमा केन्द्रीय बैंकले नीतिहरु ल्याउँदा त्रुटीपूर्ण ल्याएको र बैंकहरु पनि जिम्मेवार नबन्दा अहिले गैरबैंकिङ सम्पत्ति बढ्न पुगेको कतिपयको भनाइ छ। कोरोना महामारीपछिको लचक नीतिलाई बैंकहरुले व्यापक दुरुपयोग गरेकाले समस्या आएको उनीहरु बताउँछन्। ठूला ऋणीहरुले कर्जाको दुरुपयोग गरेको र त्यो तिर्न नसक्दा अहिले समस्या आएको जानकारहरुको बुझाइ छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS