काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा मोरङको विराटनगरस्थित होटल एयरपोर्टमा सम्पन्न भएको हो ।
सभाले हाल कायम चुक्तापुँजी ७५ करोड रुपैयाँको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ । सभाले अधिकृत, जारी र चुक्तापुँजी वृद्धि गर्न निर्देशन आएमा वा आवश्यक देखिएमा सोहीबमोजिम प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने अर्को विशेष प्रस्ताव पनि अनुमोदन गरेको छ ।
कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव सभाले पारित गरेको छ । सभाले सर्वसाधारण शेयरधनीबाट प्रतिनिधित्व गर्ने एकजना सञ्चालकको नियुक्ति (निर्वाचन) गर्ने प्रस्ताव पनि अनुमोदन गरेको छ ।
सभाले गत आर्थिक वर्ष २०८१।८२ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गरेको छ ।


















