काठमाडौं । शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले उदयपुर जिल्लाका विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ। कम्पनीले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त सहयोग गरेको हो । यस अभियानमार्फत ४५० भन्दा बढी विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित भएको कम्पनीले जनाएको छ ।
यस अन्तर्गत विद्यार्थीहरूलाई कापी, कलम, झोला, पेन, ज्योमेट्रिक बक्सजस्ता व्यक्तिगत शैक्षिक सामग्री उपलब्ध गराइएको छ भने विद्यालयहरूलाई डस्टबिन, वाटर फिल्टर, जग र पाठ्यपुस्तक समेत हस्तान्तरण गरिएको छ। यसबाट विद्यालयको सिकाइ वातावरण थप सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ।
सहयोग प्राप्त गर्ने विद्यालयहरूमा श्री रुपैरानी आधारभूत विद्यालय (आहाले), जनता आवासीय विद्यालय (थलियाटार), वीरेन्द्र आवासीय विद्यालय (भन्टाबारी) र श्री आधारभूत विद्यालय (बबेला) रहेका छन्। यसअघि पनि शौर्य सिमेन्टले कटारी नगरपालिका–७, मर्जेतपुरस्थित श्री सरस्वती आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।
वितरण कार्यक्रम विद्यालयका प्राचार्य, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय जनप्रतिनिधि तथा शौर्य सिमेन्टको खानी तथा ब्राण्ड टोलीको उपस्थितिमा सम्पन्न भएको हो।

















