काठमाडौं । आमलगानीकर्ताको मागबमोजिम नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज साउन १ गतेदेखि नेप्से वेबसाइटको मार्केट डेप्थमा अड लट खरिद तथा बिक्री आदेश देख्न सकिने बनाएको छ।
यसबाट आफूसँग अड लट धितोपत्र हुँदा खरिद-बिक्री गर्न नपाएको भन्ने लगानीकर्ताको गुनासो सम्बोधन हुने विश्वास नेप्सेले लिएको छ। धितोपत्र कारोबार विनियमावली, २०७५ मा अड लट कारोबारसम्बन्धी व्यवस्था छ। यसअनुसार धितोपत्रको अंकित मूल्य रु. १० भएमा १०० कित्ता, अंकित मूल्य रु. १०० भएमा १० कित्ता र अंकित मूल्य रु. १००० भएमा एक कित्ताको कारोबारलाई बोर्ड लट भनिन्छ।
विनियमावलीले उल्लिखितभन्दा कम कित्ताको कारोबारलाई अड लट कारोबार भनेर परिभाषित गरेको छ। अड लट कारोबारलाई मूल्य परिवर्तन सीमा र बजार परिसूचक गणनामा समावेश गरिँदैन।
धितोपत्रधनीले बोर्ड लटमा भएको धितोपत्रलाई टुक्र्याएर अड लट बनाउन नपाउने व्यवस्था विनियमावलीमा छ।

















