काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले आफ्नो दोस्रो वार्षिक साधारणसभा आज जेठ १६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा चितवनको भरतपुरस्थित भरतपुर गार्डेन रिसोर्टमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्षबाट पेस हुने गत आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिवेदन स्वीकृत गर्नेछ। सभाले गत आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीसहितको वित्तीय विवरण अनुमोदन गर्नेछ।
सभाले चालु आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ। सभाले सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्नेछ।
सभाले सञ्चालकहरुको बैठक भत्ता, दैनिक भ्रमण भत्ता तथा अन्य सेवासुविधा स्वीकृत गर्नुका साथै कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको खर्च अनुमोदन गर्नेछ।
साधारणसभा प्रयोजनार्थ कम्पनीले जेठ ८ गते बुक क्लोज गरेको छ। यसको अर्थ जेठ ८ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको साधारणसभामा भाग लिन योग्य हुनेछन्।

















