काठमाडौं । पछिल्लो समय कर्जा लिनेको संख्यामा आएको संकुचनका कारण निक्षेप खाता र कर्जा खाताबीचको अन्तर निकै ठूलो देखिएको छ । राष्ट्र बैंकका अनुसार, निक्षेपमा पैसा राख्नेहरूको तुलनामा कर्जा लिएर लगानी विस्तार गर्नेहरू ३० गुणा कम छन् ।
अर्थतन्त्रमा आएको संकुचनका कारण उत्पादनमा कटौति, उपभोक्ता मागमा आएको संकुचन, ऋणीको ऋण तिर्न सक्ने क्षमता घट्नु जस्ता कारणले अहिले कर्जा खाता वृद्धिको दरको तुलनामा निक्षेप वृद्धि बढि भएको हो । साथै धेरैले निक्षेप खाता धेरै बैंकमा खोल्ने भएपनि कर्जा एक बैंकबाट मात्रै लिने भएकाले पनि खाता कम भएको बैंकरको भनाइ छ । यस्तो अवस्था स्वभाविक हुने समेत उनीहरू बताउँछन् ।
अहिले निजी क्षेत्रले कर्जाको माग गर्न सकेको छैन । ब्याजदर न्यून भएको अवस्थामा पनि कर्जाको माग हुन नसक्दा कर्जा खाता स्वभाविक रूपमा छिटो बढ्न सक्दैन । त्यसकारण कर्जा खाता निक्षेप खाताको तुलनामा कम भएको हो ।
निक्षेप खाता बढाउनका लागि चाहीँ वित्तीय साक्षरताको प्रभाव मानिएको छ । मोबाइल बैंकिङमार्फत सहज भुक्तानी, सुरक्षित र छिटो छरितो सेवा लगायतका कारण नागरिक अहिले डिजिटल बैंकिङ तर्फ आकर्शित छन् । जसले गर्दा निक्षेप खाता बढ्न भूमिका खेलेको उनीहरूको भनाइ छ ।
अर्थतन्त्रको अवस्थामा सुधार आएमा निक्षेप खाता जस्तै कर्जा खाता पनि बढ्नेछ । कर्जाको माग बढ्दै जाने, बजारमा नयाँ लगानीकर्ताको प्रवेश हुने अवस्था सिर्जना हुन कर्जा खाता पनि बढ्ने बैंकरहरू बताउँछन् ।
सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थामा असोज मसान्तसम्म पाँच करोड ६९ लाख ७५ हजार ३ सय ५८ वटा निक्षेप खाता रहेका छन् । यस्तै १९ लाख १२ हजार दुई सय ३४ वटा कर्जा खाता खोलिएका छन् । गत आवको सोही अवधिको तुलनामा निक्षेप खाता ४२ लाख ६१ हजार एक सय ६९ र कर्जा खाता ५७ हजार सात सय ६८ वटाले बढी हो । गत वर्ष असोजसम्म पाँच करोड २७ लाख १४ हजार एक सय ८९ वटा निक्षेप खाता र १८ लाख ५४ हजार चार सय ६६ वटा कर्जा खाता सञ्चालनमा थिए ।
गत असोज मसान्तसम्म वाणिज्य बैंकहरूमा मात्र सञ्चालनमा रहेका निक्षेप खाता संख्या चार करोड ८८ लाख ३६ हजार चार सय ३२ र कर्जा खाताको संख्या १५ लाख ८७ हजार तीन सय ९१ छ । जुन गत आवको सोही अवधिको तुलनामा निक्षेपतर्फ ३५ लाख ९२ हजार नौ सय पाँच र कर्जातर्फ ६३ हजार तीन सय ३१ वटाले बढी हो । गत आवको असोज मसान्तसम्मा वाणिज्य बैंकहरूमा चार करोड ५२ लाख ४३ हजार पाँच सय २७ वटा निक्षेप खाता र १५ लाख २४ हजार ६० वटा कर्जा खाता सञ्चालनमा थिए ।
विकास बैंकहरूमा गत असोज मसान्तसम्म ७२ लाख २४ हजार आठ सय ९१ वटा निक्षेप खाता र दुई लाख ८१ हजार एक सय ९६ वटा कर्जा खाता सञ्चालनमा छन् । जुन गत आवको सोही अवधिको तुलनामा निक्षेप खाता ५ लाख ६६ हजार ९ सय ४६ वटा बढी हो भने कर्जा खाता सात हजार एक सय ४५ वटाले कम हो । गत आवको सोही अवधिमा विकास बैंकहरूमा कुल ६६ लाख ५७ हजार नौ सय ४५ वटा निक्षेप खाता र दुई लाख ८८ हजार तीन सय ४१ वटा कर्जा खाता सञ्चालनमा थिए ।
फाइनान्स कम्पनीहरूमा सञ्चालनमा रहेका निक्षेप र कर्जा खाताको संख्या गत असोजमा क्रमशः नौ लाख १४ हजार ३५ र ४३ हजार ६ सय ४७ वटा छ । जुन गत आवको सोही अवधिको तुलनामा क्रमशः एक लाख एक हजार तीन सय १८ र एक हजार पाँच सय ८२ वटा बढी हो । गत आवको सोही अवधिको तुलनामा फाइनान्स कम्पनीहरूमा आठ लाख १२ हजार सात सय १७ वटा निक्षेप खाता सञ्चालनमा रहेको थियो भने कर्जा खाता ४२ हजार ६५ वटा थियो ।