काठमाडौं । तपाइँले बीमा गरिसकेपछि बीमालेखको फाइल दराजमा थन्क्याएको र बीमाशुल्क भुक्तानी गर्ने मिति कहिले हो भन्ने यकिन गर्ने कामका लागि मात्र बीमालेखको पाना पल्टाएको हुनुपर्छ। बीमाको सम्बन्धमा सीमित सचेतना भएको हाम्रो देशमा अधिकांश बीमितको अवस्था यस्तै हुन्छ। एउटा सचेत बीमितका रुपमा तपाइँले बीमालेख खरिद गरिसकेपछि बीमालेखको दस्तावेजमा समावेश गरिएको प्रत्येक जानकारीबारेमा प्रस्ट हुनुपर्छ।
बीमालेख कुनै पनि बीमा कम्पनी (बीमक) र व्यक्ति, व्यवसाय, वा संस्था जसलाई बीमित पनि भनिन्छ बीचको कानुनी करार हो। यो करार दस्तावेजमा दुवै पक्षले करारको पालना गर्नका लागि आ–आफ्ना तर्फबाट पुरा गर्ने कर्तव्यका बारेमा विस्तृतमा उल्लेख गरिएको हुन्छ। तपाइँको बीमालेखबारे राम्ररी अध्ययन गर्नाले तपाइँलाई नीतिले आफ्ना आवश्यकताहरु पूरा गर्छ कि गर्दैन भनेर प्रस्ट हुन मद्दत गर्छ।
तपाइँले आफ्नो र बीमा कम्पनीको जिम्मेवारीहरु बुझ्नुभएन भने बीमाको लाभबाट वञ्चित हुनुपर्ने अवस्था आउन सक्छ। धेरैजसो बीमितले आफूले खरिद गरेको बीमालेखमा कुन–कुन जोखिम बहन गरिएको छ, कस्तो जोखिमलाई अपवादका रुपमा राखिएको छ, कति रकमसम्म वा कुन अवधिसम्मको दाबी भुक्तानी पाइँदैन भन्ने बारेमा बेखबर रहन्छन्। बीमितले बीमालेख खरिद गर्नुअघि राम्ररी जानकारी लिएर, बीमालेखको कागज पढेर, सर्तहरुका बारेमा प्रस्ट भएर बीमा खरिद गर्नुपर्छ। यस्तो अवस्थामा भविष्यमा ठगिएको अनुभूति हुने अवस्थाबाट जोगिन मद्दत गर्छ।
बीमा करारमा आठ आधारभूत भागहरू हुन्छन्:
१) उद्घोषण खण्ड
२) अनुसूची
३) बीमा करार
४) परिभाषा खण्ड
५) शर्तहरू
६) अपवाद
७) पुरक करार
८) सम्पुष्टी
बहु-जोखिम समावेश गरिएका बीमालेखमा प्रत्येक प्रकारको जोखिम बहनका लागि विशेष अपवाद र शर्तहरू समावेश गरिएका हुन सक्छन्। जस्तै सवारी साधन ठोक्किएर हुने दुर्घटना, चिकित्सिक उपचारको भुक्तानी जोखिम बहन, वित्तीय दायीत्व बहन। तपाईले आफ्नो नोक्सानीमा लागू हुने विशिष्ट जोखिम बहनका लागि बीमालेखमा उल्लेखित भाषा पढ्नुभएको छ भनी सुनिश्चित गर्नु जरूरी हुन्छ।
१) उद्घोषण खण्डः
यो खण्ड सामान्यतया बीमालेखको पहिलो भाग हो। यसमा बीमकको नाम, ठेगाना, बीमालेखको नाम र प्रकृति, बीमालेख नम्बर लगायतको जानकारीहरू समावेश हुन्छ।
२) अनुसूची खण्डः
यस खण्ड अन्तर्गत बीमितको व्यक्तित जानकारी सहितका महत्वपूर्ण जानकारीहरू समावेश गरिएको हुन्छ। बीमितको नाम, प्रस्तावकको नाम, बीमाङ्क रकम, बीमालेखको सीमा, बीमा जारी मिति, बीमा अवधि, बीमाशुल्क किस्ता, बीमाशुल्क भुक्तानी मिति, इच्छ्याइएको व्यक्तिको बारेमा जानकारी सावेश गरेको हुन्छ।
निर्जीवन बीमामा, उदाहरणका लागि, सवारीसाधन बीमालेखको घोषणा पृष्ठमा समावेश गरिएको गाडीको विवरण (जस्तै मेक/मोडेल, इन्जिन नम्बर, चेसिज नम्बर), बीमित वा सवारीधनीको नाम, बीमाशुल्क रकम र बीमित स्वयमले व्यहोर्ने नोक्सानी रकमको सीमा समावेश हुनेछ।
३) भुक्तानीको शर्तः
जीवन बीमा योजनामा बीमकले कुन अवस्थामा भुक्तानी दिने हो, त्यस सम्बन्धि विवरण जीवन बीमालेखको भुक्तानी शर्त खण्डमा समावेश गरिएको हुन्छ। यस खण्डमा भुक्तानीको शर्तका साथै बीमाशुल्क भुक्तानी गर्नुपर्ने अवस्था, बीमालेख अन्तर्गत कुनै प्रतिक्षा अवधि भए सो अवधि, बीमा दाबी भुक्तानी प्राप्त गर्ने व्यक्ति लगायतको जानकारी समावेश गरिएको हुन्छ।
४) परिभाषा खण्डः
यस शर्त अन्तर्गत बीमालेखमा प्रयुक्त प्राविधिक शब्दहरूको र विशेष शर्तहरूको परिभाषा उल्लेख गरिएको हुन्छ। परिभाषाले बीमालेखको विशेष शब्द वा शर्तहरूलाई सहजरूपमा बुझ्न बीमितलाई सहज बनाउँछ।
५) शर्तहरूः
शर्तहरू बीमालेखमा सम्मिलित प्रावधानहरू हुन् जसले बीमितको बीमाशुल्क भुक्तानीको दायीत्व, बीमकले भुक्तानी दिने अवस्थाहरूको बारेमा जानकारी दिन्छ। यसबाहेक बीमालेखको समर्पण मूल्य प्राप्त हुने अवधि, चुक्ता मूल्य सम्बन्धि प्रावधान, बीमालेख धितो कर्जा सम्बन्धी प्रावधानहरूको बारेमा पनि जानकारी समेटिएको हुन्छ। यसमा समावेश गरिएको शर्त अनुसार बीमितले नियमितरूपमा बीमाशुल्क भुक्तानी गरेन भने, बीमकले दाबी भुक्तानी अस्वीकार गर्न सक्छ।
निर्जीवन बीमालेखमा सामान्य अवस्थामा क्षतिको जानकारी दिन, क्षतिको प्रमाणहरू पेश गर्न, क्षति न्यूनीकरणका लागि पूर्ण प्रयास गर्न, क्षति भइसकेर बाँकी रहेका सम्पत्तिको संरक्षण गर्न, बीमकको पक्षबाट हुने अनुसन्धानका क्रममा आवश्यक सहयोग गर्नुपर्ने शर्तहरू समावेश गरिएका हुन्छन् ।
६) अपवाद र बहिष्करण खण्डः
यस खण्ड अन्तर्गत कुन कुन अवस्थाहरू बीमा दाबी योग्य हुँदैन भन्ने स्पष्ट उल्लेख गरिएको हुन्छ। जस्तै जीवन बीमालेखमा बीमा गरेको दुइ वर्षभित्र बीमितले आत्महत्या गरेको अवस्थामा दाबी अस्वीकृत हुने शर्त समावेश हुन्छ। यसैगरी गोताखोरी, मोटरसाइकल रेस, कावा खाने, घोषित वा अघोषित यूद्धमा सहभागी हुने लगायतका अवस्थामा दाबी अस्वीकृत गर्ने शर्तहरू पनि समेटिएको हुन्छ।
निर्जीवन बीमालेखमा बीमितको तर्फबाट नै बीमालेखमा समावेश नगरिदिन अनुरोध गरिएका जोखिमहरूको सूची समावेश गरिएको हुन्छ। साथै केही बीमालेखहरूमा बीमक स्वयमले पनि अस्वीकार गरेका जोखिमको विवरण समावेश गरिएका हुन्छन् ।
७) पुरक करार
बीमालेखमा मुख्य शर्तको रूपमा नभई अतिरिक्त शर्त र सुविधाकोरूपमा समावेश गरिएका जोखिम बहन र सुविधाहरूलाई पुरक करारमा समेटिएको हुन्छ। यो मूल बीमालेख करारमा नभएर बेग्लै पृष्ठमा उल्लेख गरिएको हुन्छ। यस्तो पुरक करारको संकेत नम्बर चाहिँ मूल बीमालेखको अनुसूची तालिकामा समावेश गरिएको हुन्छ।
पुरक करार ऐच्छिकरूपमा बीमितको अनुरोधमा समावेश गरिएको हुन्छ। यसका लागि बीमितले मूल बीमालेख वापतको बीमाशुल्कका अतिरिक्त थोरै बढी रकम भुक्तानी दिनुपर्छ। पुरक करारलाई बीमा अवधिभर निरन्तरता दिन वा बीमालेख जारी भएको वार्षिक अवधि पुरा भएपछि रद्द गर्न सकिन्छ। रद्द गर्ने निर्णय लिने अधिकार बीमितमा हुन्छ र बीमितले बीमकलाई लिखितरूपमा सूचना दिएर पुरक करार खारेजी गर्न सक्छ।
८) सम्पुष्टीः
बीमालेखमा समावेश हुने अर्को पृष्ठ हो, सम्पुष्टी । बीमालेखको शर्तमा कुनै परिवर्तन भएको अवस्थामा मूल बीमालेखमा परिवर्तन नगरी बीमालेखको अभिन्न अंगकारूपमा बेग्लै सम्पुष्टि जारी गरिएको हुन्छ। यस पृष्ठमा इच्छ्याइएको व्यक्तिको नाम परिवर्तन, बीमाशुल्क भुक्तानीको तरिका परिवर्तन, बीमितको जन्ममिति संशोधन लगायतका विवरण समावेश गरिएको हुन्छ।
यसरी तपाईले बीमालेखको प्रत्येक खण्ड र मूल बीमालेखसँगै समावेश गरिएका अतिरिक्त पृष्ठमा उल्लेखित प्रत्येक जानकारीहरू विस्तृतमा अध्ययन गर्नुपर्छ। यस्तो अध्ययनले तपाईलाई बीमाबाट पूर्ण लाभ प्राप्त गर्न मद्दत गर्छ। बीमालेखमा उल्लेखित जानकारीहरू बुझ्न वा अर्थ लगाउन असहज भएको अवस्थामा तपाईले अनुभवी अभिकर्ता वा बीमा कम्पनीको शाखा कार्यालयका कर्मचारीको मद्दत लिन सक्नुहुन्छ।