काठमाडौं । छिमेकी मुलुक भारतकाे केन्द्रीय बैंक भारतीय रिजर्व बैंक (आरबीआई) ग्राहक पहिचान सम्बन्धी प्रावधानकाे पालना नगरेकाे आराेप सहित डिजिटल भुक्तानी सेवा प्रदायक पेटिएमविरुद्ध भारु ५ कराेड ३९ लाख रुपैयाँ( ८ कराेड ६२ लाख रूपैयाँ) जरिवाना गरेकाे छ।
पेटीएम सञ्चालक कम्पनी पेटिएम पेमेन्ट्स बैंक लिमिटेडविरूद्ध यति ठूलाे धनराशीकाे कारवाही गरिएकाे हाे । केन्द्रीय बैंकले भुक्तानी बैंकको इजाजत प्राप्त कम्पनीकाे लागी जारी साइबर सुरक्षा संरचना, एकीकृत भुक्तानी प्रणाली लगायत अन्य निर्देशनहरुकाे पनि उलंघन भएकाे आराेप लगाएकाे छ।
केन्द्रीय बैंकले अनुसन्धानका क्रममा डिजिटल वालेटबाट रकम लेनदेनका क्रममा वास्तविक लाभग्राहीकाे पहिचान यकीन नै नगरी काराेबारकाे इजाजत दिइएकाे फेला परेपछि कारवाही गरेकाे हाे । यसबाहेक भुक्तानी काराेबारकाे नियमित अनुगमनमा चुकेकाे र भुक्तानी सेवाहरू प्राप्त गर्ने संस्थाको जोखिमकाे वर्गिकरणका आधारमा निरन्तर निगरानी समेत नराखेकाे आरबीआईले सार्वजनिक गरेकाे छ।
आरबीआईले गत वर्ष समेत पेटीएम पेमेन्ट्स बैंकलाई नयाँ ग्राहकमाझ सेवा बिस्तार गर्न राेक लगाएकाे थियाे । पेटिएम डिजिटल वालेट भारतकाे सबैभन्दा ठूलाे विद्युतीय भुक्तानी सञ्जाल भएकाे कम्पनी हाे ।