काठमाडौं । नेपाल बीमा प्राधिकरणले गार्डियन माइक्रोइन्स्योरेन्स कम्पनीमा चिरायु भण्डारीलाई प्रमुख कार्यकारी अधिकृत बनाउन स्वीकृत प्रदान गरेको छ । प्राधिकरणले आज अन्तिम स्वीकृति दिएको छ । नयाँ लघु जीवन बीमा कम्पनी गार्डियनले भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेर स्वीकृतिका लागि बीमा प्राधिकरणमा पेश गरेको थियो ।
भण्डारी नेपाल पुनर्बीमा कम्पनीका पुर्व प्रमुख कार्यकारी अधिकृत हुन् । उनि नेपाल पुनर्बीमाको कार्यकाल पुरा गरेर प्राइम लाइफमा प्रवेश गरेका थिए । प्राइम लाइफले सिइओ बनाउने भनेर भित्र्याए पनि सिइओ बनाएन । प्राइम लाइफबाट बाहिरिएका भण्डारी अन्तत नयाँ लघु जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत बनेका छन् ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्समा कूल ४९ करोड ५० लाख रुपैयाँ लगानी जुटेको छ । जीवन लघुबीमा व्यवसाय सञ्चालन गर्नको लागि नेपाल बीमा प्राधिकरणबाट छनोट भएको उक्त कम्पनीमा सो मात्राको लगानी जुटेको हो ।
गार्डियनमा दिपक भट्ट सहित ४४ जनाको प्रमुख लगानी रहेको छ । नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्षहरु शेखर गोल्छा, पशुपति मुरारका, भवानी राणा लगायतका विभिन्न व्यवसायीहरुको लगानी छ । हुलास अटोक्राफ्टका शेखर गोल्छाले एक करोड, पशुपति मुरारकाले ५० लाख र टाइटेनियम क्यापिटलका भवानी राणाले ५ करोड ५० लाख रुपैयाँ, शंकर अग्रवालले फिन्कोर्प मार्फत ११ करोड २५ लाख रुपैयाँ लगानी गरेका छन् । विराटनगर मोरङमा केन्द्रिय कार्यालय रहने गरी लाइसेन्स पाए पनि कर्पोरेट कार्यालय भने काठमाडौंबाटै सञ्चालन गर्ने तयारी गरेको छ ।