काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि माघ १७ गतेदेखि साधारणसभा सम्पन्न नभएसम्मको लागि बुक क्लोज गर्ने भएको छ । कम्पनीले प्रस्ताव गरेको लाभांश आज माघ १६ गतेसम्म कायम शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन् ।
कम्पनीले एकै पटक दुई आर्थिक वर्षको वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले आगामी माघ २५ गते १७ औं तथा १८ औं वार्षिक साधारणसभा डाकेको हो । माघ तीन गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो ।
कम्पनीले २०७९ असार मसान्तसम्मको सञ्चित मुनाफा तथा जगेडाकोषबाट १६ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्तावलाई आगामी वार्षिक साधारणसभा पेश गर्नेछ । कम्पनीले ३६ करोड ५७ लाख ७२ हजार ९९२ रुपैयाँ बराबरको बोनस शेयर पारित गर्ने भएको हो । बोनस शेयर वितरण गर्दा खण्डित शेयरको हकमा माथिल्लो नजिकको अंकमा परिणत गर्ने र सो गर्दा शेयर स्वामित्व कायम राख्ने गरी जारी पूँजी तथा चुक्ता पूँजी संशोधन गर्ने भएको छ । यसको अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव साधारणसभामा लैजाने भएको हो ।
कम्पनीबाट गरिएको चन्दा तथा सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्चहरु अनुमोदन गर्नेछ । कम्पनीको नियमावलीको नियम १२ ख अनुसार संचालकहरुको नियुक्ति सम्बन्धी नियमलाई संशोधन गर्ने भएको छ । कम्पनीले शेयर कन्भर्जन गर्दा सर्वसाधारण शेयरधनीको हिस्सा बढे सँगै यस समुहबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुको संख्या पनि थप्ने प्रस्ताव गरेको हो । हाल उक्त नियमावलीमा संस्थापक समुहबाट ४ जना, सर्वसाधारण शेयरधनीहरुबाट २ जना र स्वतन्त्र संचालक एक जना गरी ७ जना संचालक हुने व्यवस्था छ ।
अव सर्वसाधारण शेयरधनीको तर्फबाट तीन जना, संस्थापकहरुबाट पनि तीन जना र स्वतन्त्र संचालक एक जना सहित ७ जनाको संचालक हुने व्यवस्था सहित नियमावली संशोधन गर्ने भएको हो । नेपाल बीमा प्राधिकरणले मर्जरका लागि गरिरहेको प्रोत्साहनलाई उपयोग गर्दै कम्पनीले अर्को कम्पनी सँग मर्जरको आवस्यक प्रकृयाँ अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारणसभामा पेश गर्ने भएको छ ।
सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नेछ । त्यस्तै अघिल्ला दुई आर्थिक वर्षको वित्तीय विवरण, लेखापरीक्षण प्रतिवेदनहरु उपर छलफल गरि पारित गर्ने जनाएको छ । चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको वार्षिक पारिश्रमिक तोक्ने प्रस्ताव पनि साधारणसभामा पेश गर्नेछ । त्यस्तै वोनस शेयरको कर प्रयोजनका लागि ०।८४२१ प्रतिशत नगद लाभांशको प्रस्ताव पनि पारितका लागि साधारणसभामा पेश गर्ने भएको छ ।