सुदर्शन बस्नेत
नेपालमा बीमा बजार परिपक्व र विकास नहुने कारणमध्ये बीमा साक्षरताको कमीलाई एक महत्वपूर्ण मानिन्छ । नेपालको सन्दर्भमा हेर्ने हो भने बीमा समितिको हालै प्रकाशित तथ्यलाई हेर्दा आ.व.२०७८/०७९ सम्म कुल ३ करोड जनसंख्यामा ४१ प्रतिशत मात्र बीमामा पहुँच रहेको तथ्याङ्क रहेको छ । यसरी यहि तथ्यांकलाई विश्लेषण गर्दा विगतको तुलनामा १३ प्रतिशत क्षेत्रको दायरा बृद्धि भएसँगै बीमा साक्षरता पनि बढेको मान्न सकिन्छ ।
विश्वभर नै वित्तीय साक्षरता, बैंकिङ साक्षरता र बीमा साक्षरताबारे निक्कै चर्चा परिचर्चा हुने गर्दछ । जसमध्ये सबैभन्दा कम वित्तीय साक्षरता रहेको क्षेत्र पनि बीमा साक्षरता नै हो । जुन नेपालको सन्दर्भमा बीमा क्षेत्रको विकास भएको ७१ वर्षको इतिहास रहेत पनि भर्खर बामे सर्दै गरेको बच्चा अवस्थाबाट विस्तारै हिड्न सक्ने अवस्थामा पुगेको छ । बीमा साक्षरतालाई साधारणतया आम नागरिकले वित्तीय स्रोत साधनलाई आफ्नै जीवनको हितको लागि प्रभावकारी रुपमा प्रयोग गर्न सक्ने ज्ञान सीपलाई कतिसम्म उपयोग र सदुपयोग गरेको छ भन्ने कुरालाई परिभाषित गरिएको पाइन्छ । के बीमाको अर्थ बीमालाई बुझ्न र व्याख्या गर्न सक्नु मात्रै बीमा साक्षरता हो ? कुनै पनि मानिसको बीमा साक्षरता मापन गर्ने हो भने, उसले बीमाको बारेमा कति जानकारी हासिल गरेको छ भन्ने कुरा निजले बीमालाई आफ्नो जीवनमा कति हदसम्म लागू गर्न सकेको छ भन्ने कुराले पुष्टि गर्दछ । बीमा साक्षरताले बीमा क्षेत्रमा विश्वासको अभिवृद्धि गर्दछ साथै सहभागितामा समेत बृद्धि गर्न मदत गर्दछ । जसले बीमा सेवाहरु, बीमाका प्रोडक्टहरुको बारेमा राम्ररी बुझ्न र उत्तः बीमाका योजनाहरुसँग जोडिएका जोखिमहरुको घनत्व र गहिराईको पहिचान गरी जोखिम व्यवस्थापनसँगै आर्थिक व्यवस्थापन गर्न सिकाउँदछ । साथै बीमा कम्पनीहरु र सरोकारवाला निकायहरु मार्फत आ नागरिकको वास्तविक आवश्यकताहरुलाई पहिचान गरी उनीहरुलाई बीमाका विभिन्न योजनाहरुलाई परिमार्जन गर्न समेत बीमा साक्षरताले सहयोग गर्दछ । बीमा एक विश्वास जितेर काम गर्ने क्षेत्र भएकोले पनि समाजका लक्षित वर्ग बालबालिका, महिला, किसान, बृद्ध आदि सँगसँगै आ नागरिकलाई बीमाको बारेमा बृद्धिमतापूर्ण निर्णय लिन सक्ने अवस्थामा पुर्याउन बीमा साक्षरताले मात्र पुरा गर्न सक्दछ ।
बीमा साक्षरताको महत्व
बीमा क्षेत्र देशको वित्तीय प्रणालीको एक महत्वपूर्ण पाटो हो । वित्तीय रुपमा सचेत नागरिकले नै मुलुकको आर्थिक सम्बृद्धिमा अर्थपूर्ण योगदान गर्न सक्दछन् । वित्तीय रुपमा साक्षर उपभोक्ता नै तुलनात्मक रुपमा बढी बचत गरी त्यसको सहि समयमा सहि क्षेत्रमा लगानीको माध्यम मार्फत जोखिम हस्तान्तरणसँगै बढी लाभ लिन सकिरहेका हुन्छन् । बीमा अन्य वित्तीय उपकरणभन्दा निकै जटिल वित्तीय उपकरण पनि हो । हरेक क्षेत्रमा सूचना प्रविधिको विकाससँगै एकातर्फ अवसरका ढोका खुल्दै गइरहेको छ भने अर्काेतर्फ ममानवीय जोखिमसँगै प्राकृतिक जोखिमहरु जस्तै भूकम्प, बाढी पहिरो, जलवायु परिवर्तन, हावाहुरी, खडेरी, चट्याङ, महामारी, घातक रोग दुर्घटना आदि जस्ता जोखिमहरु पनि बढ्दै गइरहेको छ । यसै सन्दर्भमा मानिसहरुले आफ्नो जीवनको सुरक्षासँगै आफ्नो भौतिक सम्पतिको सुरक्षा व्यवस्थापन गर्दै आफ्नो आर्थिक हेसियत अनुसार बीमामा लगानी गरी सम्पूर्ण जोखिमहरु बीमा कम्पनीहरुलाई हस्तान्तरण गरी आनान्दम र निर्धक्क जीवन व्यतित गर्ने अवसर बमिा क्षेत्रले मात्र पुरा गरिदिन सक्दछ । यसर्थ बमिा साक्षरता आ नागरिकमा हुनु अपरिहार्य छ जसलाई बुँदागत
रुपमा यसको महत्व बारे प्रष्ट पार्दा :
१.आधुनिक बीमा सेवा सुविधाको सरल र कम लागतमा छनोट गर्ने अवसर
२.उद्योगधन्दा, कलकारखानाको विकाससँगै व्यापार तथा वाणिज्य क्षेत्रको विकास हुने
३.मौद्रिक तथा वित्तीय नीतिको कार्यान्वयनमा सहयोग पुग्ने
४.ग्रामीण तथा पिछडीएको क्षेक्र वर्ग, समुदाय आदिको बीमामा पहुँचसँगै गरिबी न्यूनीकरण हुने
५.कृषि क्षेत्रको व्यवसायीकरण, विविधिकरण गर्दै उत्पादकत्वमा बृद्धि हुने
६.आम नागरिकको जीवनस्तरमा बृद्धिसँगै आर्थिक सामाजिक सुरक्षामा सहयोग पुग्ने
७.बीमा क्षेत्रमा समावेशीतासँगै पहुँच बृद्धि भई सामाजिक सुरक्षामा सहयोग पुग्ने
८.जोखिम व्यवस्थापनसँगै आर्थिक व्यवस्थापनमा सहयोग पुग्ने
९.विप्रेषण आय उपभोगमा मात्र खर्च नभई बीमा क्षेत्रमा लगानी हुने
नेपालको सन्दर्भमा बीमा साक्षरताको अवस्था र चुनौतिहरु
नेपालमा बीमाको विकास अनय वित्तीय क्षेत्रभन्दा अघि नै भएता पनि नेपालमा बीमा साक्षरताको अवस्था धेरै नै पछि रहेको अवस्था छ । नेपालमा मर्जरअघि जीवन बीमा व्यवसायतर्फ १९ र निर्जीवन बीमा तर्फ २० र २ पूर्ण बीमा कम्पनीहरुको बीमा सेवा ७७ जिल्लामा ३३३७ शाखा उपशाखा सहित करिव १२ हजारभन्दा बढी व्यक्तिहरु कर्मचारीको रुपमा कार्यरत छन् । बीमा अभिकर्ता ३ लाखको संख्यामा साथै बीमा मध्यस्थकर्ताहरुको पनि राम्रो सहभागीता हुँदा हुँदै पनि अपेक्षा गरे अनुरुप बीमाको पहुँचसँगै बीमा साक्षरता नभएको मान्न सकिन्छ । हाम्रो छिमेकी राष्ट्रहरुमा नै बीमाको विस्तारलाई प्राथमिकतामा राखेर सरकारले आफ्नो बजेट तथा कार्यक्रममा समावेश गरी बीमा पहुँच बढाउन बीमा साक्षरतामा ठूलो धनराशी खर्च गरिएको हुन्छ भने नेपालमा भने त्यस्तो अवस्था पाइदैन । भारतमा सन् १९६८ मा कृषि बीमा लागू गर्दा नेपालमा भने भरखरै यसको अभ्यास गरिदैछ । तर पछिल्लो वर्षहरुमा बीमा साक्षरतालाई लिएर नियमनकारी निकाय बीमा समिति, बीमा व्यवसायी, अभिकर्ता, सर्भेयर, तेस्रो पक्ष सहजकर्ता । बीमा दलालहरुको एकिकृत ढंगबाट बीमा साक्षरताका लागि सामुहिक अभियानमा जुटेको अवस्थाले नेपालको बीमा क्षेत्रको सुस्त बृद्धिलाई तोड्दै बीमा क्षेत्रमा नयाँ फड्को मार्न सकिने आशलाग्दो काम पनि भएका छन् । विशेष गरी बीमा समितिले विभिन्न स्थानिय निकाय गाउँपालिका तथा नगरपालिकासँग समन्वयन गरि बीमा जनचेतनामूलक कार्यक्रम बनाई हाल अघि बढेको पाइन्छ । यससँग सम्बन्धित धेरै बीमा निर्देशिका समेत जारी गरिएको छ । साथै हाल नयाँ बीमा ऐन समेत संसदबाट पारित भइसकेको अवस्था छ जसले गर्दा बीमा समितिको स्वायत्तता बढ्ने देखिन्छ । आ.व.२०७९/८० को बजेट वक्तव्यमा पनि बीमाको पहुँच विस्तारका लागि एक घर एक बीमा नीति, सामूहिक दुर्घटना, बीमा सूचना केन्द्रको परिकल्पना, बीमा कलेजको स्थापनामा प्रोत्साह, बीमा सेवा प्रदायक निकायहरुको संस्थागत प्रणालीगत सुधार, कृषि लघु उद्यम बीमा व्यवसायमा पहुँच र घुम्ती बीमा जस्ता कार्यक्रम समेटिएका छन् । राष्ट्रिय बीमा निति र विपद जोखिम रणनीति तर्जुमा, आयकार छुट प्रयोजनको लागि थप सीमा, बीमा महाविपत्ति बण्डनलाई समेटिएको साथै स्थानिय तहले बीमामा छुट, अनुदान र सहुलियत दिएर सामाजिक सुरक्षाका विभिनन कार्यक्रमसँगको आवद्धताले गर्दा झनै बीमाको प्राथमिकता र आवश्यकता समेत बढ्न थालेको पाइन्छ । त्यसको सही ढंगबाट कार्यान्वयन भएमा आगामी दिनमा बीमा साक्षरतासँगै बीमामा पहुँच बढ्ने देखिन्छ ।
बीमा साक्षरता एक छरिएको, फराकिलो र प्राविधिक विषयसँग अनत सम्बन्धित भएकोले पनि यससँग पर्याप्त सामाग्रीको अभाव, विद्यालयको पाठ्यक्रममा पनि समेट्न नसक्नु जस्ता समस्याले पनि बीमा साक्षरतालाई प्रभावकारी रुपमा बढ्न नसकेको हो कि भन्न सकिन्छ । मानिसहरुमा बीमा जानकारी हुँदा हसँदै पनि कतिपय मानिसहरुमा क्षमता भएर पनि क्षमताभन्दा कमको बीमा योजना लिएको पाइन्छ । बीमा प्रोडक्टहरुलाई बिक्रि गर्न बीमा कम्पनहिरु विभिनन व्यक्ति, संगठित संस्था, व्यवसायी आदिसँग प्रत्यक्षतथा अप्रत्यक्ष रुपमा उपस्थिति भई बीमाको बारेमा आधारभूत कुराहरु र यसका फाइदा बेफाइदा आदि सम्बन्धमा बुझाउने प्रयास गर्दा उनीहरु मार्फत आफ्नो जोखिम हस्तानतरण र आर्थिक बचत र संरक्षण हुने कुराभन्दा बढी विभिन्न शंका उपशंकाको दृष्टिले हेर्ने प्रवृत्तिले पनि बीमा साक्षरता बढ्न नसकेको हुन सक्छ । यसर्थ सचेत पदीय हैसियत र जिम्मेवारी पाएका व्यक्तिहरुमा पनि बीमालाई बुझाउने प्रयास नगर्नु, जागरुकता गराउन खोजदा पनि व्यक्तिगत आर्थिक स्वार्थमा जोडिएको छ भन्ने भ्रममा परि राम्रोसाग बुझ्न नचाहेर पनि बीमा साक्षरता अपेक्षित रुपमा बढ्न नसकेको हो । नेपालको न्यून आर्थिक अवस्थाले गर्दा अधिकांश नागरिक आफ्नो आधारभूत आवश्यकता पूरा गर्नमा नै केन्द्रित रहेको पाइन्छ । जसले गर्दा बीमालाई आफ्नो प्राथमिकतामा भन्दा परको विषको मानने अवस्था र सोचाई आम जनमानसमा रहेको छ ।
बीमा साक्षरताको लागि अव के गर्ने ?
नेपालमा बीमा क्षेत्रले कुल गाार्हस्थ उत्पादनमा ३.६३ प्रतिशत योगदान र वार्षिक रुपमा १५ अर्व भन्दा बढि कर राज्यलाई प्दान गरिरहेको क्षेत्र हो । जसले प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगारीका अवसर प्रदान गर्नुका साथै प्राकृतिक र मानव सिर्जित जोखिमबाट मानव जीवन, सम्पति र दायित्वको रक्षावरण गरी वित्तीय सुरक्षा प्रदान गर्न बीमाले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । तर पनि नेपालमा यस क्षेत्रलाई सरकारले आफ्ना बजेट नीति, कार्यक्रममा अन्य क्षेत्र जस्तै प्राथमिकतामा राखेर अगाडी बढाएको देखिदैन, जसले गर्दा आज बीमा साक्षरताको अवस्था दुखदायी रहेको पाइन्छ । यसर्थ नेपालमा पनि अन्तराष्ट्रिय प्रचलन र अभ्यास अनुरुप बीमा सेवाको विस्तार गरी आर्थिक, प्राकृतिक, सामाजिक, एवं अन्य कारणबाट उत्पनन हुने सम्पूर्ण जोखिमलाई बीमाको दायरामा ल्याउने, सरकारी सम्पतिको बीमा गराउने, दुर्गम तथा न्यून आय भएका समाजका सबै वर्ग, तह र कारोवारमा बीमाको पहुंच पुर्याएको अवस्थामा मात्र बीमा साक्षरता बढ्न सक्छ ।
यसका लागि राज्यले आफ्ना बीमासँग सम्बन्धित नीतिगत कानुनी, संस्थागत सुधार गर्दै प्राथमिकता अनुसार कार्यान्वयन गर्न नखोज्ने प्रवृत्तिले हालै संचालनमा आएको स्वास्थ्य बीमा र कोरोना बीमाको दावी भुक्तानी र स्वास्थ्य बीमाको सेवाको अवस्था र प्रकृया व्यवस्थित हुन नसक्दा आम नागरिकको बीमा प्रति जग्दै गरेको विश्वास पनि यस प्रकारको समस्याले बीमाको विश्वास र यस प्रति नकारात्मक धारणा बन्दै गइरहेको पाइन्छ । यस अर्थ पनि बीमा साक्षरताको लागि विशेष गरी नियमनकारी निकाय बीमा समिति, बीमा व्यवसायी, अभिकर्ता, सर्भेयर, तेस्रो पक्ष सहजकर्ता, स्थानिय निकाय र बीमा दलालहरुको एकिकृत ढंगबाट बीमा साक्षरताका लागि सामूहिक अअभियानका कार्यक्रम र रणनीतिका साथ अघि बढ्न सकेको अवस्थामा नेपालको बीमा साक्षरता दरलाई बढाउन सकिन्छ । साथै विद्यालयदेखि विश्वविद्यालयसम्म बीमा विषयको पाठ्यक्रम समावेश गरी, बीमा जनशक्ति उत्पादन गर्ने एकेडेमी, तालिम केन्द्र, बीमा सूचना केन्द्र बीमा पूर्वाधार र बैंकिङ क्षेत्रको विकाससँग आवद्ध हुने गरि अल्पकालिन, मध्यकालिन र दिर्घकालिन नीति कार्यक्रम बनाई कार्यान्वयन गर्न सकिएमा बीमा साक्षरताले गति पाउने अवस्था रहन्छ । त्यसै गरी नेपालको संघिय संरचना अनुरुप महानगरपानलिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकासँग सहकार्य गरी बीमा सम्बन्धि बीमा सचेतना कार्यक्रम र बीमा योजनाहरुको बारेमा विभिन्न माध्यमबाट प्रचारप्रसार गरिएको अवस्थामा बमिा जागरुकता बढ्ने र बीमामा हुने ठगी भ्रम र अपराधलाई नियन्त्रण गर्न सकेको खण्डमा बीमा साक्षरता निश्चय पनि अभिकृद्धि हुने अपेक्षा गर्न सकिन्छ ।
साथै नयाँ नयाँ प्रविधिको विकाससँग जोडिएर बीमा कम्पनीहरुले आफ्ना सेवाहरु स्वस्थ प्रतिष्पर्धाका साथ आम जनमानसलाई समेट्ने गरी सबै वर्ग क्षेत्रको पहुँच र आवश्यकतालाई मध्यनजर गरी सोहि अनुरुप बीमा प्रोडक्ट तयार गरी विश्वासिलो आधार प्राप्त हुने गरी सेवा प्रवाह गर्न सक्नुपर्दछ । बीमा योजनाहरु लिदा बीमितलाई उसको आवश्यकता अनुरुपको फाइदा पुग्ने गरी बीमा योजनाको उपयोग गर्न सक्ने निर्णय लिन सकेमा मात्र वास्तवमा बीमा साक्षरता भएको मानिनछ । यसर्थ यसका लागि सबै सरोकारवाला पक्षहरुको क्षमता बृद्धिसँगै साथ सहयोग र सहकार्यमा आ–आफ्नो ठाउँबाट हातेमालो गरी बीमा साक्षरताका लागि लाग्नुपर्ने अवस्था आएको छ । बीमा कार्यक्रमलाई समग्र क्षेत्र समेट्न कम प्रिमियममा बीमा कार्यक्रमलाई स्वेच्छिक होइन कि अनिवार्य गर्नुपर्दछ । जस्तै घरको बीमा गर्दा नक्सा पास सँगसँगै अनिवार्य गर्न सकेमा जनमानसमा बीमाको आवश्यकता बुझ्ने र अन्य बीमा पोलिसीहरुको खरिदमा आकर्षण निश्चय नै बढ्ने थियो ।
बस्नेत राष्ट्रिय बीमा कम्पनी लि. का सहायक व्यवस्थापक हुन् ।
(बस्नेत रास्ट्रीय बीमा कम्पनीमा कार्यरत छन्। संजीवनीमा प्रकाशित लेखबाट साभार गरिएको)