विश्व व्यापी रुपमा वढेको विभिन्न किसिमका जोखिमहरुसंगै सो जोखिमहरुलाई मापन र आधार बनाएर बीमा योजनाहरुमा पनि बिविधीकरण भएको छ । बीमा योजनाको बिविधिकारण संगै यसको व्यवसायमा पनि तुलनात्मक विस्तार भएको छ । बीमा व्यवसाय विस्तारको मुख्य वितरण प्रणालीको रुपमा विकसित मुलुकमा बैंकास्योरेन्स,ब्रोकर तथा संस्थागत एजेन्सिहरुको मुख्य भुमिका भए पनि नेपाल लगायतका विकाशसिल देशहरुमा व्यक्तिगत अभिकर्ताको भुमिका नै प्रमुख रहेको पाइन्छ । नेपालमा पनि जीवन बीमा व्यवसायमा नब्बे प्रतिशत भन्दा वढी अभिकर्ता (एजेन्सि च्यानल) मार्फत व्यवसाय हुने गरेको अवस्था छ ।
यति ठुलो हिस्साको व्यवसायमा योगदान गर्ने बीमाको मेरुदण्डको रुपमा रहेको व्यक्तिगत अभिकर्ताको पेशा, दक्षता र क्षमता संगै व्यवसायिकताको वारेमा पटक पटक चर्चा हुने गरेको छ । बीमा व्यवसायको विकासमा एजेन्सिको योगदानको समग्र मुल्यांकन संगै यस क्षेत्रमा घटेका प्रतिनिधी घटनाहरुले उठाएका नैतिक तथा व्यवसायिक प्रश्नहरुले पनि अभिकर्ता पेशा प्रतिको अवधारणामा असर गरेको अवस्था छ ।
अन्तराष्ट्रिय स्तरमा दुई किसिमको अभिकर्ताको पेशागत अभ्यास भएको पाइन्छ । स्वतन्त्र (independent) रुपमा काम गर्ने अभिकर्ता जसले विभिन्न कम्पनीहरुको एजेन्सिको रुपमा काम गर्ने गर्दछन् भने प्रतक्ष्य (Captive) अभिकर्ता जसले एउटै कम्पनीमा मात्र काम गर्ने गर्दछन । नेपालमा स्वतन्त्र अभिकर्ताको व्यवस्था भए पनि छिमेकी देशहरु सहित विश्वव्यापी रुपमा प्रतक्ष्य अभिकर्ताको मोडलनै सर्वमान्य र प्रभावकारी रुपमा अपनाईएको पाइन्छ । तर केही विकसित देशहरुमा प्रतक्ष्य अभिकर्ताले पनि फरक फरक कम्पनीमा फरक फरक बीमा प्रोडक्टको लागी आपसमा स्वार्थ नवाझिने गरि काम गर्ने गरेको पनि पाइन्छ ।
जसमा जीवन वा निर्जीवन बीमा अन्तर्गत पनि परीक्षा पास गरेको प्रकार अनुसारको बीमा प्रोडक्टको मात्र (ड्राइभिङ्ग लाइसेन्समा जस्तो) बीमा गर्न पाउने गरि लाइसेन्स जारी गरिने गरिएको समेत पाइन्छ । बीमा धेरै प्राविधिक र विविधीकृत विषय भएकोले यस प्रकारको व्यवस्थाको मुख्य उदेश्य विशेषज्ञता भएको विषय अनुसारको मात्र कामको जिम्मेवारी निभाउनु हो । बीमाको सवै पक्षहरुको ज्ञान बिना गरिने कामले सामाजिक र पेशागत चुनौतीहरु बढाउछ ।
यस पेशामा रहेका चुनौतिहरुमा मूख्य रुपमा व्यवसायिकताको विकासको कमी, विषयगत दक्षताको अभाव र ठुलो संख्यामा एक वर्ष भित्र पलायन हुनु रहेको छ । नेतृत्व, सिप र व्यवसायिकता विकासको लागी अन्तराष्ट्रिय रुपमा प्रयोग र प्रमाणित भैसकेको ३ टियर प्रणाली अनुसारको एजेन्सि मेनेजर र युनिट मेनेजर मोडलको प्रयोग नेपालमा पनि दुई दशक देखी अभ्यासमा रहेको भएता पनि केही कम्पनीमा वाहेक यसको उदेश्य र मर्म अनुसार काम हुन नसक्दा यस पेशामा आवद्धहरुको संख्याको वृद्धी अनुसार आशातित विकास हुन सकेको छैन । अभिकर्ताको लागी बीमाको विषय वस्तु सहितको ज्ञान, विक्री कला, नविनतम प्रविधीको प्रयोग, यस पेशाका आचार सहिंता, नैतिकता, आचरण र सिमाहरु सहित ग्राहक सेवाको विषयमा यथोचित सिकाइको कमिको कारणले पनि ग्राहकले लिने बीमा सेवाको गुणस्तरर वितरण (Delivery) मा असर गरेको पाइन्छ ।
यस पेशामा ठुलो संख्यामा अभिकर्ताहरु एक वर्ष भित्रमा पलायन हुने गरेको अवस्था छ । मुख्य गरि आफन्त र नजिककाहरु (Near & Dear) लाई करकाप तथा अनुरोधमा बीमा गरी सके पछि अझ अनुभवी भएर व्यवसायिक विक्री कला तथा सिप सहित अगाडि वढनु पर्ने अवस्थामा धेरै जसो अभिकर्ताहरुको पेशागत यात्रा अन्त्य हुने गरेको छ । अभिकर्ताको काम, कर्तव्य, अधिकार र बीमाको विषय वस्तु राम्रो संग वुझ्न लिनु पर्ने उचित तालिमको अभावमा पनि व्यवसायिक यात्रामा वाधा पुगेको देखिन्छ । यस पेशामा आफन्तहरुको बीमा गरे पछि दोस्रो सर्कल व्यवसायिक यात्रामा प्राय असफल नहुनुमा सिप र क्षमताको कमीको कारणले गर्दा हो जुन कुरामा बीमा कम्पनी र अभिकर्ताले दुवैले विशेष ध्यान दिनु पर्ने हुन्छ । यसरी ठुलो संख्याको अभिकर्ता यस पेशामा निममित नहुदा ग्राहकले पाउने सेवामा पनि प्रभाव पर्ने र समग्र बीमा प्रति ग्राहकको विश्वासमा असर गर्दछ ।
बीमा कम्पनीको अभिकर्ता वन्नको लागी विभिन्न देशमा फरक फरक अभ्यास रहेको पाइन्छ । विकसित देशहरु जस्तै अमेरिकामा औसत ४० घण्टाको प्रि लाइसेन्स कोर्स पुरा गरे पछि एजेन्ट लाइसेन्सको लागी तोकिएको परीक्षामा ७० प्रतिशत अंक ल्याई पास गर्नु पर्दछ । तर सिमित प्रोडक्ट (हेल्थ, पेन्सन आदि)को मात्र बीमा गर्ने गरि लिइने लाइसेन्सलाई २० घण्टाको प्रि लाइसेन्स कोर्स पुरा गरे पुग्छ । छिमेकी देश भारतमा पनि कम्तीमा ५० घण्टाको अध्ययन गर्नु पर्ने र सो पश्चात परीक्षामा सामेल हुनु पर्नेे व्यवस्था रहेकोछ ।
नेपालमा बीमा समितिले तोेके बमोजिमको तालिम कार्यक्रम बीमा कम्पनीहरुले संचालन गरि आवश्यक कागजात सहित बीमा समितिमा अभिकर्ताको लाइसेन्सको लागी सिफारिस गरे अनुसार अभिकर्ताको लाइसेन्स दिने प्रकृया रहेको छ । नियमनकारी निकायवाट अभिकर्ताको लाइसेन्स लिए पछि बीमा कम्पनीसंग छुटै पेशागत काम, कर्तव्य, अधिकार, सर्त तथा सुविधाहरु उल्लेख गरि करार गर्ने प्रचलन विदेशमा हुने गरेको भए पनि नेपालमा एकाध कम्पनीमा मात्र प्रचलन रहेको देखिन्छ । सो करारमा एजेन्सिले नविकरण पर्सिस्टेन्सि तथा ल्याप्सको समेत सर्तहरु राखेर गरिएको हुन्छ जसमा आफु अन्तर्गतको बीमित पोर्टफोलियोको तोकिएको भन्दा वढी ल्याप्स भएमा उसले पाउने इन्सेन्टिभ पनि सोही बमोजिम कमि हुन जाने व्यवस्था गरिएको हुन्छ ।
व्यवसायिक पेशाहरुमा विश्व भरी नैे सामान्यतया पेशागत अनुभव, क्षमता, ज्ञान र सम्वन्धित विषयको अध्ययन अनुसारको सिमा र सो बमोजिमको जिम्मेवारी र कार्यसम्पादनको अभ्यास भएको पाइन्छ । नेपालमा पनि सोही बमोजिम केही पेशाहरु जस्तै लेखापरिक्षक , वकिल, ठेकेदार, सर्भेयर आदि कार्यको लागी अध्ययन, अनुभव अनुसार श्रेणीगत व्यवस्था, सिमा र सोही अनुसारको जिम्मेवारी प्रदान गर्ने गरिएको पाइन्छ । जुन सुकै पेशामा पनि ज्ञान, क्षमता र अनुभवको आधारमा क्रमशः सिमा र जिम्मेवारी थप गर्दै जान सकेमा मात्र व्यवसायिक कार्यसम्पादन गुणस्तरीय हुने कुरा रहन्छ ।
बीमा र यसका योजनाहरु अतिनै टेक्निकल विषय भएको, यसको विक्री कला पनि अन्य प्रोडक्ट भन्दा कठिन श्रेणीमा पर्ने, ग्राहकले पेश गरेको बीमा प्रस्ताव फाराममा गरिने जोखिमांकनको प्रथम जिम्मेवारी अभिकर्ताको नै भएको अवस्थामा अभिकर्ताको व्यवसायिक ज्ञान, क्षमता र अनुभव अनुसार श्रेणीगत जिम्मेवारी गर्न सके बीमा क्षेत्रमा देखिएका खराव नियतका घटनाहरु लाई निरुत्साहन गर्न मदत पुग्ने छ । लाइसेन्स प्राप्त नयां अभिकर्ता र वर्षौ देखी यसै पेशामा उच्च शिक्षा, अनुभव र ज्ञान प्राप्त गरेका अभिकर्ताहरुको बीमा गर्ने सिमामा फरक नहुनुले पनि जोखिमांकन , व्यवसायिकता र ग्राहक सेवा फरक पर्नुको साथै गलत नियत राख्नेहरुले सजिलै ठुलो जोखिममा प्रवेश र सहज पहुच पाउने अवस्था छ । नेपालमा पनि केही जीवन बीमा कम्पनीहरुले आन्तरिक रुपमा नयां र अनुभवी तथा प्रविधी मैत्री अभिकर्ता अनुसार क्रमश फरक जोखिमांकनको सिमा तोकेर जोखिम स्विकार गर्ने उत्कृष्ट अभ्यास गरेको पनि पाइन्छ।
अन्त्यमा,यस पेशालाई अझ दक्ष, मर्यादित, सम्मानित र व्यवसायिक वनाउदै जानु पर्ने आवश्यकतालाई मध्यनजर गर्दै गुणस्तरियतामा ध्यान दिनु पर्ने समय आएको छ । कम्पनीले संचालन गर्ने अभिकर्ताको तालिमको स्तरियता, गुणस्तर र विषय वस्तुको ज्ञानको सम्वन्धि विषयमा एकरुपता कायम गर्न व्यवहारिक परिक्षण प्रणालीको आश्यकता देखिन्छ ।
विभिद्धिकृत भौगोलिक अवस्था, संभावित अभिकर्ताको शैक्षिक र अन्य धरातलिय अवस्था, समग्र बीमाको पंहुच, व्यवसाय विस्तार र यसमा पर्ने प्रभाव समेतको विचार गरि परीक्षण प्रणालीको विकास गर्नु व्यवहारिक हुन्छ । सबै नयां अभिकर्ताको लागि परिक्षणको योजना र कार्यन्वयनमा व्यवहारिक समस्या लगाएत अन्य कठिनाई हुने अवस्था रहेमा शुरुवातको रुपमा अधिक बीमांकको जोखिमको माथिल्लो सिमाको तह अनुसार जोखिमांकन गर्ने गरि तोकिएको कोर्षको परिक्षाका साथै अनुभव र योग्यताको आधारमा श्रेणीकरण गर्नु पनि उपयुक्त हुन्छ ।
यसरी गरिने परिक्षण प्रणाली समयको आवश्यकता, लागत, सवैको पहुंच र प्रवेशमा सहजता समेतलाई ध्यानमा राखि प्रविधी मैत्री हिसावले अनलाईन मार्फत गर्नु उपुक्त हुन्छ। जस्ले गर्दा करियर एजेन्सिको रुपमा पेशागत व्यवसायिक वातावरण, गुणस्तरिय जोखिमांकन,स्वस्थ प्रतिस्पर्धा र सेवाको विकासमा कोसे ढुंगा सावित हुने विश्वास गर्न सकिन्छ।
(पौडेल सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन्)