काठमाडौं । कुमारी बैंकको स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले कम्पनीको १ लाख २२ हजार २८७ कित्ता संस्थापक शेयर फागुन ३० गते देखि लिलामीमा ल्याएको हो ।
ईच्छुक विद्यमान संस्थापकहरु वा योग्य जो कोही व्यक्ति तथा संगठित संस्थाहरुले आज अपरान्ह ३ बजेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिन सकिने छ ।
बोलपत्र पेश गर्दा न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन पाइने छ। विक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।
आज ३ बजेसम्म प्राप्त भएका बोलपत्र चैत १७ गते बिहान १० बजे कुमारी क्यापिटल लिमिटेड नागपोखरी नक्सालमा खोलिने कम्पनीले जनाएको छ ।