रामचन्द्र खनाल
नेपालमा आर्थिक उदारीकरणको प्रारम्भसगै बीमा कम्पनीहरु खुल्ने लहर चलेको हो । फलस्वरुप हालसम्म १९ वटा जीवन बीमा कम्पनी, २० वटा निर्जीवन बीमा कम्पनी र दुई वटा पुनर्बीमा कम्पनी स्थापना भइसकेका छन् । कम्पनीको संख्या सँगै नेपालमा जीवन तथा निर्जीवन बीमा व्यवसाय लगातार बृद्धि भइसकेको छ ।
संख्यात्मक बृद्धि सँगै प्रत्यक्ष रुपमा संलग्न हुने व्यक्ति तथा संस्थाको सक्रियताले यसको महत्व र जनचेतनाको स्तरमा क्रमिक रुपमा सुधार भइरहेको छ । पछिल्लो एक दशकमा बीमा क्षेत्रमा जुन किसिमको सुधार भएको छ त्यस भन्दा अगाडी बीमा क्षेत्र राष्ट्रिय प्राथमिकतामा पनि थिएन । आज राज्यको प्राथमिकतामा पर्न थालेको छ । बजेट तथा सरकारका नीति तथा कार्यक्रममा बीमा क्षेत्र समावेश हुन थाल्नुले पनि यसको महत्व र प्राथमिकता स्थापित हुने क्रममा छ ।
आज भन्दा १० वर्ष अगाडी कुल ग्राह्यस्थ उत्पादनमा बीमा क्षेत्रको योगदान जम्मा एक प्रतिशत थियो । अहिले ३.५८ प्रतिशत योगदान रहेको छ । यस अवधिलाई तुलनात्मक रुपमा हेर्ने हो भने १० वर्ष अगाडी जीवन तथा निर्जीवन बीमा कम्पनीले २० अर्ब हाराहारीको बीमा शुल्क आर्जन गर्ने गरेका थिए । चालु आर्थिक वर्षको ५ महिनामै बीमा क्षेत्रले ७३ अर्ब २२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरिसकेका छन् । गत वर्षको असारसम्ममा हेर्ने हो भने एक खर्ब ५२ अर्ब रुपैयाँ थियो ।
नेपाल सरकार, बीमा समिति र नेपालमा कार्यरत जीवन बीमा कम्पनीहरुको निरन्तर प्रयास र सक्रियताले नै बीमा व्यबसायको बृद्धिमा उल्लेख्य सफलता हाँसिल भएको देखिन्छ । बीमा कम्पनीहरुले जारी गर्ने बीमालेखको संख्या सँगै बीमाको पहुँचमा पनि क्रमिक रुपमा सुधार भइरहेको छ । हालसम्म २८ प्रतिशत नेपाली बीमाको दायरामा आएको पाइन्छ । यो पनि क्रमिक रुपमा सुधार हुने क्रममा छ । बीमाको पहुँच २८ प्रतिशत जनसंख्यामा पुग्नु भनेको अझै ७२ प्रतिशत नेपालीहरु बीमाको पहुँचमा आउन बाँकी नै छ ।
बीमा कम्पनीहरुको संख्या बृद्धि सँगै बजार विस्तार समेत भएको छ तथा सोही अनुरुप बीमितहरुको संख्या समेत बुद्धि भएको देखिन्छ । नेपालीहरुको औसत आयमा भएको क्रमिक बृद्धि तथा बीमा सम्वन्धी जनचेतना अभिबृद्धिले जीवन बीमा क्षेत्रमा बजार विस्तार तथा बीमितहरुको संख्या बृद्धिमा मद्दत पुर्याएको देखिन्छ ।
बीमा ऐन २०४९ ले जीवन बीमालाई दीर्घकालिन करार भनी परिभाषित गरिएको छ तसर्थ जीवन बीमा आर्थिक सुरक्षा र अनिवार्य बचत गर्ने भावनाले अभिप्रेरित भई गरिने दीर्घकालिन करार हो । जीवन बीमा अनिश्चित भविष्यका प्रतिकूलताहरुलाई आफ्नो अनुकूल बनाउने सबै भन्दा उपयुक्त साधन हो ।
जीवन बीमा नियमित बचत र ब्यक्तिगत कर बचत गर्ने साधन पनि हो । जीवन बीमाको मुख्य विशेषता नै परिवारको आय आर्जन गर्ने ब्यक्तिको मृत्यु वा शारीरिक अक्षमताबाट उत्पन्न हुने आर्थिक अनिश्चितताबाट मुक्ति पाउनु हो । तसर्थ प्रत्येक ब्यक्तिले जीवन बीमाको माध्यमबाट आर्थिक सुरक्षा प्राप्त गर्न तथा नियमित बचत गर्न आफ्नो आर्थिक क्षमता, परिवारको आर्थिक सुरक्षाका लागी चाहिने उपयुक्त रकम, उमेर आदिको आधारमा विश्वसनिय बीमा कम्पनीमा जीवन बीमा गर्नु पर्दछ ।
जीवन बीमा गर्दा बीमितले आफ्नो जीवन बीमाको लागि बीमा कम्पनीले तोकेको प्रकृयाँ अवलम्वन गरी जीवन बीमा प्रस्ताव, व्यक्तिगत स्वास्थ्य सम्वन्धी विवरण आदि भरेर बीमक समक्ष पेश गरेको हुन्छ र सोही आधारमा बीमकले बीमा शुल्क किस्ता निर्धारण गर्दछ । यसरी दुबै पक्षको सहमतीबाट बीमकले निर्धारण गरेको बीमा शुल्क किस्ता बीमा अवधिभर किस्ताबन्दीमा बीमा कम्पनीमा तिर्नु पर्दछ । हरेक देशको स्वास्थ्य क्षेत्रमा भएको विकासको क्रमसँगै जनताको जनसंख्याको मृत्युदर फरक हुन्छ । मानिसको उमेर अनुसारको मृत्युदरको आधारमा जीवन बीमाका विशेषज्ञ “बीमांकी”ले बीमा शुल्क दर फरक फरक निर्धारण गरेको हुन्छ । सो बीमा शुल्कदरको आधारमा बीमा कम्पनीले बीमा गर्ने व्यक्तिको उमेर अनुसार छुट्टाछुट्टै बीमा शुल्क निर्धारण गरी लिने गरिन्छ ।
जीवन बीमा दुई प्रकारले गर्न सकिन्छ । एउटा मृत्यु जोखिम मात्र वहन गराउन म्यादी जीवन बीमा गरिन्छ । यस बीमा लेखको लागि तिर्नु पर्ने बीमा शुल्क तुलनात्मक रुपमा कम हुन्छ र बीमा अवधि भित्र बीमितको मृत्यु भएमा मात्र यसबाट बीमाको लाभ पाइन्छ । अर्को, जीवन बीमामा मृत्यु जोखिम बहन गराइ भविष्यको लागि बचत समेत गर्ने उद्देश्यले सावधिक तथा आजीवन जीवन बीमा गराइन्छ । यी बीमालेख अन्तर्गत बीमा अवधि भित्र बीमितको मृत्यु भएमा बीमांक रकम र सामानुपातीक आर्जीत बोनश एकमुष्ट रुपमा बीमितको इच्छाइएको व्यक्तिलाई भुक्तानी गरिन्छ । बीमा अवधि सम्म बीमित जीवित रहेमा बीमांक र आर्जीत बोनश बीमित स्वंयलाई एकमुष्ट रुपमा भुक्तानी गरिन्छ ।
बीमा कम्पनीमा म्यादी जीवन बीमा गर्दा न्यूनतम एक बर्ष बीमा अवधि निर्धारण गर्नु पर्दछ भने अन्य जीवन बीमा गर्दा न्यूनतम ५ बर्ष बीमा अवधि कायम गरी जीवन बीमा गराउन सकिन्छ । प्रत्येक उमेर समुहका ब्यक्तिले आफ्नो भविष्यको योजना तथा आवश्यक्ता अनुसारको समयावधी निर्धारण गरी बीमा गर्नु उचित हुन्छ । निश्चित बीमाङ्कका लागी बीमाको अवधी बढदै जादा बीमा शुल्क घट्दै जाने भएकोले कम उमेर भएकाले बढी अवधीको बीमा गर्दा बढी रकमको बीमा गर्न सकिन्छ ।
त्यस्तै बाल–बच्चाहरुको बीमा गर्दा तिनिहरुको उच्च शिक्षा वा विवाहको समयमा भुक्तानी हुने गरी बीमा गर्न सकिन्छ भने नियमित आय आर्जन गर्ने ब्यक्तिले आफ्नो रोजगारबाट अवकाश पाउने समय तिर भुक्तानी हुने गरी बीमा गर्नु उपर्यूक्त हुन्छ । तसर्थ जीवन बीमाको प्रकार रोज्दा आफ्नो आवश्यकता तथा उद्देश्य अनुरुप रोज्नु पर्दछ । परिवारको मुख्य आय आर्जकको मृत्यु अथवा शारीरिक अक्षमताबाट उत्पन्न हुने आर्थिक असुरक्षाबाट सुरक्षित रहने उद्देश्य भएमा म्यादी जीवन बीमा उपर्युक्त हुन्छ भने भविष्यमा चाहिने रकमको जोहो गर्नाका साथै आर्थिक सुरक्षण समेतको लागि सावधिक वा आजीवन बीमा गर्नु उपर्युक्त हुन्छ ।
जीवन बीमामा प्रदान गरीने बोनश गणना गर्दा बिमाङ्कमा प्रदान गरीन्छ । उदाहरणका लागी कुनै ब्यक्तिले १५ बर्ष अवधिका लागी रु. ५ लाखको जीवन बीमा गर्दा करिब रु. ३३,०००।– बार्षिक बीमा शुल्क तिर्नु पर्दछ । बीमा कम्पनीले प्रतिहजार बीमाङ्कमा रु. ६० को बोनश घोषणा गरेको रहेछ भने निजको बीमा लेखमा प्रति बर्ष रु. १९,८००।– का दरले थपिदै जान्छ । यसरी बीमा शुल्कको रुपमा किस्ता बन्दीमा गरीएको लगानीमा समेत बीमाङ्क रकममा बोनश पाइन्छ । बीमितको मृत्यु भएमा हकवालाले बीमाङ्क रकम तथा सोमा आर्जीत रकम प्राप्त गर्दछ । जीवन बीमा गर्दा न्यूनतम अतिरिक्त शुल्कमा थप सुविधाहरु समेत प्राप्त गर्न सकिन्छ ।
जीवन बीमाको मुल बीमा सुविधा (बीमांक) को लागि लिइने बीमा शुल्कमा नगन्य थप बीमा शुल्क लिई ऐच्छिक सुविधा स्वरुप दुर्घटना मृत्यु लाभ, स्थायी अपाङ्ग सुविधा आदी जस्ता थप सुविधाहरु समावेश गरी बीमकले बीमा लेख जारी गर्दछ । मानिसले बिभीन्न पेशा वा व्यवसाय अवलम्वन गरेको हुन्छ । जोखिम युक्त पेशामा संलग्न हुने व्यक्तिहरुको लागि ऐच्छिक सुविधा मुल बीमामा समावेश गरी आफ्नो जीवन बीमा गराउनु हालको परिपेक्षमा निकै सान्दर्भिक हुन्छ ।
(लेखक बीमा लगायत विभिन्न कम्पनीको वित्तीय तथा उच्च व्यवस्थापन तहमा लामो समयदेखि सक्रिय छन् )