काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ८ जनाको आवेदन परेको छ।
अर्थ मन्त्रालयले गठन गरेको सहसचिव महेश आचार्यको संयोजकत्वको सीईओ छनौट तथा सिफारिस समितिले गत साउन १२ गते नेप्सेको सीईओमा दरखास्त आह्वान गरेको थियो। दरखास्त दिने म्याद साउन २६ गतेसम्म रहेको थियो। ‘अन्तिम दिनसम्म ८ जनाको आवेदन परेको छ’, सहसचिव आचार्यले भने, ‘अब योग्यता र कार्यानुभवका आधारमा सर्टलिस्ट गर्ने प्रक्रिया सुरु हुन्छ।’
आचार्यले आवेदन परेकाहरुको नाम भने खुलाउन चाहेनन्।
अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि वा वाणिज्य वा कानुन विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी वा सोसरहको उपाधि हासिल गरी पुँजीबजार वा वित्तीय क्षेत्र वा व्यवस्थापनसम्बन्धी कार्यमा कम्तीमा ७ वर्ष व्यवस्थापकीय तहमा काम गरेको अनुभवसहित कम्तीमा १५ वर्षको कार्य अनुभव भएका नेपाली नागरिकले सीईओ पदमा आवेदन दिन पाउने व्यवस्था रहेको छ।
सिफारिस समितिले प्राप्त आवेदनको योग्यता, अनुभव र कार्ययोजनाको मूल्यांकनका आधारमा सर्टलिस्ट जारी गर्नेछ। त्यसपछि अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि समितिले सर्टलिस्टमा परेकाहरुलाई डाक्नेछ।
अन्तर्वार्ता र प्रस्तुतीकरणपछि सर्टलिस्टमा परेकामध्ये ३ जनाको नाम समितिले मन्त्रालयसमक्ष पेस गर्नेछ। त्यसपछि मन्त्रालयले ती नाम मन्त्रिपरिषदको बैठकमा सिफारिस गर्नेछ। तिनैमध्ये एकजनालाई मन्त्रिपरिषदको बैठकले नेप्सेको सीईओमा नियुक्त गर्नेछ।
नेप्सेको सीईओबाट चूडामणि चापागाइँले कार्यकाल सकिनुअघि गत असार २२ गते राजीनामा दिएका थिए। उनलाई तत्कालीन सरकारले २०८१ चैत १९ गते नेप्सेको सीईओमा नियुक्त गरेको थियो।












