काठमाडौं । सरकारले अव्यवस्थित बस्तीका विद्यार्थीको स्थानान्तरण तथा परीक्षा व्यवस्थापनका लागि ६ बुँदे निर्देशन जारी गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज सबै स्थानीय तहका नाममा परिपत्र जारी गर्दै अव्यवस्थित बस्तीका विद्यार्थी स्थानान्तरण, परीक्षा व्यवस्थापन तथा विद्यालय समायोजनका सम्बन्धमा आवश्यक सहजीकरणका लागि निर्देशन जारी गरेको हो। त्यस्ता बस्तीका विद्यार्थीहरु विद्यालय पहुँच, नियमित उपस्थिति, शैक्षिक सामग्री सुरक्षित वातावरणलगायतका आधारभूत सुविधाबाट वञ्चित हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर केन्द्रले यो निर्देशन जारी गरेको छ।
निर्देशनमा विद्यार्थीहरुको पठनपाठन कार्य नियमित र प्रभावकारी रुपमा सञ्चालन गर्न विभिन्न सहजीकरणका उपाय अवलम्बन गर्न भनिएको छ।
निर्देशनमा आजदेखि सुरु भएको कक्षा १२ को परीक्षामा सहभागी हुने विद्यार्थीलाई परीक्षा केन्द्रसम्म जान आवश्यक सहजीकरण गर्न र विद्यालय नै प्रभावित भएको ठाउँमा वैकल्पिक व्यवस्था गर्न गराउन भनिएको छ।













