काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि ४ जनाको नाम सर्टलिस्ट गरिएको छ।
अध्यक्ष छनौट सिफारिस समितिले धितोपत्र बोर्डको अध्यक्षमा उम्मेदवारी दिएकामध्ये ४ जनाको नाम सर्टलिस्ट गरेको हो। सर्टलिस्टमा पर्नेहरुमा डा नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा गोपालप्रसाद भट्ट छन्। अधिकारी धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक हुन् भने आचार्य बहालवाला कार्यकारी निर्देशक हुन्। सर्टलिस्टमा पर्नेमा भट्ट पनि नेपाल राष्ट्र बैंकको पूर्वकार्यकारी निर्देशक हुन्।
सिफारिस समितिले गत वैशाख १५ गते सूचना निकाल्दै ७ दिनभित्र धितोपत्र बोर्डको अध्यक्षका लागि व्यक्तिगत विवरणसहित दरखास्त पेस गर्न आह्वान गरेको थियो। तोकिएको मितिमा ४७ जनाले व्यक्तिगत विवरण पेस गरेका थिए।
तिनै उम्मेदवारमध्ये सिफारिस समितिले ४ जनाको नाम सर्टलिस्ट गरेको हो। अब सर्टलिस्टमा परेका उम्मेदवारहरुलाई छलफलका लागि यही जेठ ८ गते अर्थ मन्त्रालयमा सिफारिस समितिले डाकेको छ।
अब सोही छलफलपछि सिफारिस समितिले अर्थ मन्त्रालयसमक्ष ३ जनाको नाम सिफारिस गर्नेछ। त्यसपछि अर्थ मन्त्रालयले तिनै उम्मेदवारमध्ये एकजनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नेछ। मन्त्रिपरिषदले तिनैमध्ये एकजनालाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ।
गत वैशाख ४ गते सन्तोष नारायण श्रेष्ठले राजीनामा दिएपछि धितोपत्र बोर्डमा अध्यक्षको पद खाली रहेको छ। तत्कालीन सरकारले श्रेष्ठलाई २०८१ मंसिर १० गते धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो।













