काठमाडौं । नेपाल राष्ट्र बैंकले मधेश प्रदेशको वीरगञ्ज कार्यालयको कार्य क्षेत्र अन्तर्गत नगद ओसार पसार गर्न झण्डै १२ लाख रूपैयाँ खर्चिने भएको छ। बैंकले क्षेत्रिय कार्यालय वीरगञ्ज अन्तर्गतका जिल्लाहरूमा नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको क्षेत्रिय तथा शाखा कार्यालयबाट नोटकोष तोडा चलान ओसार पसार गर्न न्यू नेपाल ढुवानी सेवालाई ठेक्का दिएको हो।
बैंकका अनुसार २०८२ असार महिनासम्मका लागि भएको ठेक्कामा मूल्य अभिवृद्धि कर सहित सात महिनाको अवधिमा कुल ११ लाख ८८ हजार २ सय रूपैयाँ ढुवानी व्यवसायी कम्पनीलाई भुक्तानी दिने सहमति भएको छ। ढुवानी व्यवसायीले राष्ट्र बैंकको आवश्यकता अनुसार बस, ट्रक वा जीप उपलब्ध गराउनुपर्नेछ।
केन्द्रीय बैंक, नेपाल राष्ट्र बैंकले नेपाली सेनाको सुरक्षामा देशैभर नगद ओसार पसार गर्दै आएको छ।
नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको तथ्यांक अनुसार नेपाली बजारमा २०८१ असारसम्म ६ खर्ब ८० अर्ब ४ करोड रुपैयाँ नगद परिचालन रहेको छ। २०८० असारसम्म बजारमा ६ खर्ब २५ अर्ब ७८ करोड रुपैयाँ नगद परिचालन थियो।