काठमाडौं । जेएसडब्ल्यू एमजी मोटर इन्डियाले जनवरी २०२५ मा भारतीय बजारमा एमजी साइबरस्टर इलेक्ट्रिक स्पोर्ट्स कार लन्च गर्ने तयारी गरेको छ।
लन्च हुनुअघि कम्पनीले यस इलेक्ट्रिक स्पोर्टी कारको स्पेसिफिकेसन विवरणहरु सार्वजनिक गरेको छ। यो कार अर्को महिना जनवरी १७ देखि हुने भारत मोबिलिटी एक्सपोमा विश्वसामु प्रस्तुत हुनेछ। कम्पनीले यसलाई आफ्नो सबब्रान्ड ‘एमजी सेलेक्ट’ आउटलेटअन्तर्गत बिक्री गर्नेछ।
कम्पनीले भर्खरै यस कारको पहिलो आधिकारिक तस्बिरहरु सार्वजनिक गरेको थियो। जसमा सिजर डोर्ससहितको यो कारको डिजाइन निकै आकर्षक देखिन्छ। यो कार युरोपेली बजारमा पहिले नै उपलब्ध छ। तर, यो पहिलोपटक भारतमा ल्याउन लागिएको हो।
यो एक परफर्मेन्स इलेक्ट्रिक स्पोर्ट्स कार हो। विशेष कुरा यो हो कि बटन थिचेपछि मात्र ५ सेकेन्डमा यसको ढोका पूरै खुल्छ। ढोकाको सुरक्षाका लागि यसमा राडार आधारित सेन्सर दिइएको छ।
एमजी साइबरस्टर पहिलोपटक २०२१ मा विश्वमा प्रस्तुत गरिएको थियो। यसपछि यो २०२३ को गुडवुड फेस्टिभल अफ स्पिडमा प्रदर्शन गरिएको थियो। २०१७ इलेक्ट्रिक–मोसन कुप कन्सेप्टको प्लेटफर्ममा आधारित, इलेक्ट्रिक स्पोर्ट्स कारले डीआरएलएस, स्कल्प्टेड बोनेट र स्प्लिट एयर इनटेकहरु सहितको स्लिक एलईडी हेडलाइटहरु पाउँछ।
पछाडि यसमा एरो आकारको टेल लाइट र विभाजित डिफ्युजर छ। साइबरस्टरको साइड प्रोफाइलमा सार्प कट र क्रिजहरु देखिन्छन्। जसमा १९ देखि २० इन्चसम्मका डायमन्ड–कट एलोय ह्विलहरु प्रदान गरिएको छ। यसको लम्बाइ ४५३३ एमएम, चौडाइ १९१२ एमएम, उचाइ १३२८ एमएम र ह्विलबेस २६८९ एमएम छ।
कारभित्र तीनवटा स्क्रिनसहितको ठूलो ड्यासबोर्ड लेआउट प्रदान गरिएको छ। जसमा चालकको छेउमा ठाडो स्ट्रयाक गरिएको इन्फोटेनमेन्ट प्रणाली पनि समावेश छ। यसमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कार प्ले कनेक्टिभिटीको सुविधा रहेको छ। यसका अलावा इन–बिल्ट फाइभजी, कनेक्टेड कार टेक्नोलोजी, वायरलेस चार्जिङ, डुअल जोन क्लाइमेट कन्ट्रोल, भेन्टिलेटेड सिट र प्रिमियम बोस अडियो सिस्टम समावेश छन्। यसमा क्वालकम स्न्यापड्रागन ८१५५ चिप, रिजेनेरेटिभ ब्रेकिङ, मल्टिपल एयरब्याग, लेभल–२ एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस) र थप कुरा छन्।
कम्पनीका अनुसार भारतीय विशिष्ट एमजी साइबरस्टरले ७७ केडब्ल्यूएच ब्याट्री प्याक पाउनेछ। जसको मोटाई ११० एमएममात्र हुनेछ। यो दुईवटा तेल–कूल्ड इलेक्ट्रिक मोटरहरुसँग आउँछ। प्रत्येक एक्सलमा एउटा मोटर माउन्ट गरिएको छ। जसले संयुक्त रुपमा ५१०एचपीको पावर र ७२५एनएमको टर्क उत्पन्न गर्दछ। यसमा अल ह्विल ड्राइभ (एडब्ल्यूडी) प्रणाली पनि उपलब्ध गराइएको छ।
यो इलेक्ट्रिक स्पोर्ट्स कारले ३.२ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्ने कम्पनीको दाबी छ। यो कार एउटापटक चार्जमा ५८० किलोमिटरसम्म पुग्न सक्ने कम्पनीले जनाएको छ। यो कारको अगाडि डबल बिसबोन सस्पेन्सन र पछाडि ५–लिंक इन्डिपेन्डेन्ट सस्पेन्सन छ। –एजेन्सी