काठमाडौं । विश्व बजारमा अमेरिकी डलरको भाउ बलियो बन्दै गएको छ। त्यसको प्रत्यक्ष प्रभाव विश्व बजारसँगै नेपाली बजारमा परेको छ। डलरको तुलनामा नेपाली मुद्रा कमजोर हुँदै गएको छ।
नेपाली बजारमा आज बिहीबार फेरि डलरको भाउले नयाँ रेकर्ड बनाएको छ। नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दरअनुसार १ अमेरिकी डलरको खरिददर १३५.६३ रुपैयाँ र बिक्रीदर १३६.२३ रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च हो।
यसअघि पुस ३ गते बुधबार १ अमेरिकी डलरको खरिददर १३५.५४ रुपैयाँ र बिक्रीदर १३६.१४ रुपैयाँ कायम भएको थियो। जुन हालसम्मकै उच्च थियो र आज रेकर्ड तोडिएको छ।
डलरको भाउ बढ्दा मुलुकको व्यापार घाटा झन् बढ्न सक्छ। किनकि नेपालको निर्यातभन्दा आयात धेरै हुने गरेको छ। अर्कोतर्फ डलरको भाउ बढ्दा रेमिट्यान्स पठाउनेलाई फाइदा हुन्छ।