काठमाडौं । मानिस सफलता पाउन मरिमेट्छन्। अनि अथाह श्रम गर्छन्। तर, सबैको लक्ष्य प्राप्त हुँदैन। किनकि कहिले–काहीँ मानिसले निरर्थक प्रयास पनि गरिरहेका हुन्छन्। लक्षित सफलता हासिल गर्न सार्थक प्रयासको आवश्यकता हुन्छ। कुनै पनि काममा सोचेजस्तो सहजै सफलता प्राप्त नहुन सक्छ। त्यस्तो अवस्थामा पनि विचलित नभई निरन्तर डटिरहनुपर्छ। निरन्तरको प्रयासले जोकोहीले पनि सफलता प्राप्त गर्न सक्छन्। हो, यस्तै निरर्थक प्रयासका कयौँ ढोकालाई फोडेर आफ्नो सफलतालाई अगाडि बढाई अथाह संघर्षको भारी बोकेर सफल भएका व्यक्तित्व हुन्, विष्णुप्रसाद सापकोटा।
हाल विष्णु सिटिजन लाइफका बालाजु क्षेत्रका क्षेत्रीय प्रमुख छन्। उनले आफ्नो क्षेत्रका ८ वटा शाखा कार्यालयको निगरानी तथा सुपरिवेक्षण गर्छन्। आफ्नो क्षेत्र मातहतमा बीमाका नीतिगत कानुनी व्यवस्था आफूले पालना गरी कर्मचारी, अभिकर्ता र आफ्नो टिमलाई कार्यान्वयनमा ल्याउने, नियमनकारी निकायको निर्देशन पालना गर्ने गराउने, रिपोर्टिङ गर्ने, अभिकर्ता र कर्मचारीको क्षमता विकासका लागि समय–समयमा आफ्नो क्षेत्रका विभिन्न शाखामा तालिम गराउने, कम्पनीको व्यावसायिक उद्देश्य पूरा गर्न लागिपर्ने, कामको योजना बनाउनेलगायतका काम विष्णुले गर्दै आइरहेका छन्। यतिमात्रै होइन उनले बीमामा सबैको पहुँच विस्तार गर्न आफ्नो क्षेत्रका विभिन्न ठाउँमा गएर बीमा शिक्षा र बीमा सचेतना वृद्धि हुने खालका अभियान सञ्चालन गर्दै आइरहेका छन्।
२०४४ सालमा नुवाकोटको विदूर नगरपालिका–६ मा जन्मिएका विष्णुको बाल्यकाल सामान्य रुपमा बित्यो। किसानी परिवारमा जन्मिएका विष्णु बिहान–बेलुकी घरको काम गरेर धेरै दुःख परिश्रम र मेहनत गरेर पढे। सानैबाट परिश्रम गरेर खाने परिवारमा हुर्किएर पनि होला विष्णुुलाई चुनौती र दुःखका जति नै पहाड आए पनि कहिल्यै पनि दुःखलाई दुःख नसम्झी नयाँ अवसर हो भन्दै अगाडि बढिरहे।
हाल विष्णुको बसोबास भने काठमाडौंको बालाजुमा रहेको छ। उनले एलएलसीदेखि ब्याचलरसम्मको अध्ययन आफ्नो जन्मथलोबाट नै पूरा गरे। सापकोटाले रुलर डेभलपमेन्टमा स्नाकोत्तर पूरा गरी हाल व्यवस्थापन विषयमा फेरि स्नाकोत्तर पढ्दैछन्। सानैबाट धेरै बोल्ने र निडर स्वभावका विष्णुको पढाइ बाल्यकालबाट नै राम्रो थियो। उनी टिचरको नजरमा परेका विद्यार्थीका रुपमा गनिन्थे। सानैबाट उनी नाटक , कविता , गजलहरु लेखेर प्रस्तुत गर्ने तथा स्टेज प्रोग्रामहरु सञ्चालन गर्थे। स्टेज कार्यक्रमहरु सञ्चालन गरेर उनले सानैबाछ पैसा कमाउँथे ।
विष्णु स्नातक तह पढ्दै गर्दा जागिरको खोजीमा धेरै भौँतारिए। उनले जागिरकै खोजीमा नुवाकोटबाट दिनदिनै काठमाडौं आउने गर्थे। कान्तिपुर पत्रिका बोकेर ठेगाना हेर्दै अनि फोन गर्दै जागिरको धेरै खोजी गर्थे। दिनभर काठमाडौंको धुलोमा जागिर खोजेर उनी बेलुकामात्र घर जान्थे। यसरी विष्णुले भोकभोकै कयौँ दिन बजारमा डुलेर बिताए। कयौँ दिन त विष्णुले २–३ पिस पाउरोटी तातोपानीसँग खाएर बिताए। तर, उनका लागि काठमाडौंमा जागिर भने मिलेन। जागिरको भोका विष्णुले अन्ततः २०६५ सालबाट २०६६ सालसम्म १ वर्ष टिचिङ पेसामा आबद्ध भई काम गरे। टिचिङ पेसा उनको रोजाइको क्षेत्र थिएन। राम्रो जागिरको खोजी गरिरहेका विष्णुलाई उनका दाइ पर्ने उत्तम पाठकले साविक प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा जागिर खुलेको छ भनेर सुनाए। त्यसपछि विष्णुले त्यो जागिरका बारेमा बुझे। बुझ्दा विष्णुलाई पनि राम्रो लाग्यो र उनी अन्तर्वार्ता दिन गए र पास पनि भए। उनले २०६६ सालमा साविक प्राइम लाइफ इन्स्योरेन्समा साढे ३ वर्षजति शाखा प्रमुख भएर आफ्नो जिम्मेवारी सम्हाले।
त्यसपछि विष्णु २०६९ सालमा नेपाल लाइफमा पनि शाखा प्रमुख नै भएर भित्रिए। उनले नेपाल लाइफमा ८ वर्ष काम गरे। एउटै कम्पनीमा धेरै काम गरेपछि विष्णुलाई मुभ हुन मन लागिरहेको थियो। अवसरको खोजीमा उनले नेपाल लाइफको यात्रालाई पनि बिट मार्ने निधो गरे। साविक प्राइम लाइफ र नेपाल लाइफमा हुँदा पनि विष्णुले आफ्नो शाखालाई सधैँ उत्कृष्ट स्थानमा राखेर काम गरे। उनले इमर्जिङ अवार्डसमेत पाएका थिए।
नेपाल लाइफमा शाखा प्रबन्धकको जिम्मेवारीमा ८ वर्ष बिताएका विष्णुले २०७६ सालबाट सिटिजन लाइफमा अलिक फरक जिम्मेवारीको भूमिकामा रही काम गर्ने मौका पाए। उनी सिटिजन लाइफमा एरिया ब्रान्च म्यानेजरको भूमिकामा भित्रिएका थिए। पुराना बीमा क्षेत्रमा लामो समय बिताएका विष्णुलाई सिटिजन लाइफ नयाँ कम्पनी किन रोज्नु भयो ? भनेर इन्स्योरेन्स खबरले गरेको प्रश्नमा उनले जबाफ दिए, ‘कम्पनीको प्रडक्ट समयसापेक्ष, ऐच्छिक सुविधा, एड्भान्स पोलिसी, म्यानेज्ड टिम, कर्मचारीलगायत समग्र कम्पनीको धेरै कुराले आकर्षित गर्यो। सिटिजन लाइफ नामले मात्रै नयाँ कम्पनी हो, कामको हिसाबले हेर्ने हो भने पुरानालाई टक्कर दिँदै अगाडि बढिरहेको कम्पनी हो। आगामी दिनमा पनि यस कम्पनी राम्रो फड्को मार्नेमा म विश्वस्त छु। सधैँ कम्पनी ग्राहकको हितमा नै समर्पित रहेर अगाडि बढ्नेछ।’
‘बीमा भनेको एउटा धर्मको क्षेत्र हो’, विष्णुले भने, ‘बीमा शिक्षा र सचेतना लिएर सबैलाई ज्ञान दिनु भनेको धर्मको काम नै हो। कसैलाई बचत गर्नुहोस्, राम्रो हुन्छ भनेर असल बानी सिकाउनु पनि धर्म नै हो। क्षति भएको समयमा कम्पनीले राहत रकम प्रदान गर्छ त्यो पनि धर्मको काम नै हो। मलाई लाग्छ बीमा पवित्र धर्मको क्षेत्र हो। मन्दिर बनाए धर्म मिल्ने विश्वास भएजस्तै हरेक घरमा बीमा पुर्याए धर्म हुन्छ ।’
पहिलाको तुलनामा अहिले बीमा बुझाइ फराकिलो भएको विष्णुको भनाइ छ। ‘पहिला म आफैँ पनि बीमा साक्षरता अभियान लिएर कुनै ठाउँमा जाँदा मलाई लखेटिएको थियो’, उनले पुराना दिन स्मरण गर्दै भने, ‘त्यो समयमा नेटवर्किङ बिजनेसको थियो। अनि त्यतिबेला म बीमा अभियान लिएर जाँदा नेटवर्किङ बिजनेसमा मानिसहरुको आकर्षण थियो, बीमामा भ्रम थियो । म बीमा साक्षरता अभियान लिएर एउटा गाउँमा गएका थिएँ, मलाई त्यो ठाउँबाटै त्यहाँका मानिसले लखेटेका थिए। हो, त्यो समयको बीमा बुझाइ र आजको बीमा बुझाइमा धेरै फरक छ। अहिलेका मानिसले बीमा नगरे पनि बुझ्न खोज्नुहुन्छ। त्यो राम्रो पक्ष हो। बीमा त बुझेपछि एक दिन न एक दिन गर्नुहुन्छ। शिक्षा पाउनु नै ठूलो हो।’
जीवन बीमा कुन वर्ग वा समुदायका लागि राम्रो भन्दा पनि सबै तह र तप्काका मानिसलाई खाँचो रहेको विष्णुको भनाइ छ। ‘तर, उच्च घरानाका मानिसले बीमालाई इग्नोर गर्ने गर्छन्। पैसा लगानी गरेपछि तत्काल पैसा नै आउनुपर्छ भन्नुहुन्छ तर पैसा लगानी गरेपछि बीमा क्षेत्रमा त पैसा आउँछ् तर एकमुष्ट अनि बोनस पनि र जोखिम कभर पनि हुन्छ। त्यो उनीहरुले बुझ्दैनन्। त्यस्तै कमजोर आर्थिक अवस्था भएकाले बीमा गर्न खोज्छन् तर पैसा हुँदैन।’
मध्यम वर्ग प्रायःजसोले बीमा बुझ्ने र गराउन खोज्ने विष्णुले भट्याएका छन्। ‘हामीले ठूलो रकमको बीमा गराउन जोड दिनुभन्दा पनि स–सानो बीमा गराए पनि बीमाको दायरामा ल्याउने कोसिस गर्नुपर्छ। यो मन्दीमा ठूलो रकमको बीमा गर्न सक्ने अवस्था छैन’, उनले भने, ‘त्यो अभिकर्ताले पनि बुझाउनुपर्छ।’
अभिकर्ताहरु तालिममा सहभागी हुन नखोज्ने प्रवृत्तिका हुने गरेको विष्णुको बुझाइ छ। जतिसक्दो अभिकर्तालाई तालिम दिएर बजारमा पठाउनुपर्ने भएकाले उनीहरु कम्पनीका मुख्य पात्र रहेको विष्णु बताउँछन्। ‘त्यसैले अभिकर्तामा धेरै ज्ञान हुनुपर्छ र क्षमता बनाएर बीमा बजारमा बीमा बेच्न जानुपर्ने हुन्छ’, उनले भने, ‘तर, अभिकर्ताहरुले तालिम लिन र बुझ्न नै नखोजेको जस्तो देखिन्छ।’
अभिकर्तालाई आग्रह गर्दै विष्णुले भने, ‘तपाइँहरुको क्षमता वृद्धिका लागि कम्पनीले तालिम दिने हो। त्यसकारण बीमा बजारमा काम गर्छु, व्यावसायिक रुपमा नै बीमा क्षेत्रमा टिक्छु भन्ने हो भने तालिम सबैले लिएरमात्रै बीमा बजारमा जानुपर्छ। त्यसैले तालिम लिन नहिच्किचाउनुहोस्।’
अभिकर्ता सबल र सक्षम भएर मार्केटमा जानुपर्ने विष्णुको सुझाव छ। अभिकर्तालाई कम्पनीले समय–समयमा क्षमता अभिवृद्धि तालिम दिएर सक्षम बनाउनुपर्नेमा उनको जोड छ। ‘च्यालेन्जलाई स्वीकार गर्न सक्ने अभिकर्ता बीमा बजारमा हुनुपर्छ। यस्तो अभिकर्ता भयो भने बीमा बजारलाई फाइदा हुन्छ’, उनले भने।
पछिल्लो समय सहकारीले गरेको नराम्रो कामले गर्दा बीमा क्षेत्रलाई केही न केही त असर परेको विष्णु बताउँछन्। ‘कतिपयले बीमा कम्पनीलाई सहकारीसँग जोड्न खोज्नुहुन्छ। तर, उनीहरुलाई बुझाएर बीमा र सहकारीबीचको फरक भन्यो भने बीमा बुझ्नु पनि हुन्छ’, उनी भन्छन्, ‘त्यसकारण नेपालमा अझै पनि बीमा साक्षरतालाई बढाउन जरुरी छ।’
‘जीवन बीमा प्रत्येक व्यक्तिको बचतका आधार पनि हो’, विष्णुले थपे, ‘बीमाले बचतको ग्यारेन्टी गर्छ। वर्तमानमा जस्तो परिस्थिति छ, भोलि त्यो नहुन सक्छ। त्यसकारण पनि बीमाले आजमात्रै होइन भोलिका लागि पनि सुरक्षा प्रदान गर्ने भएकोले बीमा सबैका लागि अपरिहार्य छ।’ सबैले बीमा गर्दा बुझेर र बुझाएर गर्नुपर्ने उनको सुझाव छ।
जनताले दाबी भुक्तानी पाउन, दुख पर्दा साहरा पाउन र जोखिम बहनका लागिका लागि बीमा गर्ने भएकोले दाबीमा सिटिजन लाइफले पुरै बीमा उद्योगको नेतृत्व गरिरहेको नेपाल बीमा प्राधिकरणको तथ्याङ्कले पनि देखाएको उनको भनाई छ ।
सिटिजन लाइफको डिजिटल अवधारणाले बीमा गराउन र गर्न सहज भएको उनको अनुभव छ। ‘डिजिटल भएपछि मानिसमा विश्वास बढेको छ’, विष्णुले भने, ‘सिटिजन लाइफमा धेरैजसो कारोबार त डिजिटल माध्यमबाट नै हुन्छ। यो हुँदा ग्राहकलाई पनि सहज र बीमा कम्पनीलाई पनि सहज हुन्छ। कर्मचारी र एजेन्टलाई सिटिजन लाइफले उत्कृष्ट, एडभान्स लेभलको तालिम दिने गरेको छ। सिटिजन लाइफ बीमा साक्षरता अभियानमा अगाडि छ। प्राधिकरणको हेराइमा पनि सिटिजन लाइफ बीमा साक्षरतामा अगाडि उदाहरण दिइन्छ। कम्पनीले नयाँ–नयाँ अभियानमा जोड दिँदै आइरहेको र आगामी दिनमा पनि ग्राहकलाई सहज र सरल हुने योजना ल्याउन कम्पनी प्रतिबद्ध छ।’